×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले पर्साका विभिन्न सीमा नाकामा सञ्चालन गरेको विशेष निगरानी तथा छापामार कारबाहीका क्रममा करिब १२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। कारबाहीका क्रममा भन्सार छली गरी ओसारपसार गरिएका कपडा, स्याउ, मदिरा, प्रिन्टर, ई–रिक्सा, टाँगा तथा अन्य सामग्री नियन्त्रणमा लिनुका साथै एक जनालाई पक्राउ गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित छपकैया सीमा क्षेत्रमा बिओपी सिर्सियाबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी मधेश प्रदेश ०३–००१ ह १९६९ नम्बरको ई–रिक्सामा नेपालतर्फ ल्याउँदै गरेको १ लाख ९ हजार ८२० रुपैयाँ बराबरको कपडा तथा ४ लाख रुपैयाँ मूल्यको ई–रिक्सा सहित जम्मा ५ लाख ९ हजार ८२० रुपैयाँ बराबरका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी, सोही दिन वीरगञ्ज महानगरपालिका–१६ स्थित एन्जी गेट क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ३२८४ नम्बरको ई–रिक्सा, टाँगामा लोड गरिएको स्याउ, साथै टाँगा र घोडा सहित करिब ५ लाख ८० हजार ९ सय रुपैयाँ बराबरका सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

यसैबीच, पर्साको बिन्दवासिनी गाउँपालिका–४ मधवल सीमा क्षेत्रमा बिओपी प्रसौनीभट्टाबाट खटिएको टोलीले अवैधरूपमा नेपालबाट भारततर्फ स्याउ लैजाँदै गरेका भारत घर भएका २३ वर्षीय अश्लाम आलमलाई १६ हजार ३५० रुपैयाँ बराबरको स्याउसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

यस्तै, सीमा सुरक्षा गुल्म भीखमपुरबाट खटिएको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौता सीमा क्षेत्र तथा नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज बसपार्क क्षेत्रमा ८६ हजार ९ सय रुपैयाँ बराबरको प्रिन्टर, कपडा र मदिरा बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

त्यसैगरी, असार १० गते वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुल क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले प्रदेश २–०३–००१ ह ९५८ नम्बरको ई–रिक्सा, स्याउ तथा टेन्टको कपडा सहित ४ लाख ८ हजार ५ सय रुपैयाँ बराबरका सामान बरामद गरी भोलिपल्ट वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो।

यता, असार ११ गते प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको ५९ सदस्यीय टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१ सुकुम्बासी टोलस्थित ओकिल शाह तुराहा र मुक्तार शाह तुराहाको घरमा छापामारी गरेको थियो।

छापामारीका क्रममा घरमा भन्सार छली गरी लुकाइछिपाई राखिएको १ लाख ८२ हजार ७ सय रुपैयाँ बराबरका चार पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा क्षेत्रमा भन्सार छली, अवैध आयात–निर्यात तथा तस्करी नियन्त्रणका लागि निगरानी र विशेष कारबाहीलाई थप प्रभावकारी बनाइएको छ। उनले यस्ता गतिविधिविरुद्ध आगामी दिनमा पनि कडाइका साथ अभियान जारी रहने बताए।

Back to top