×

वीरगञ्ज । तेइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस–२०८३ को अवसरमा वीरगञ्ज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजना, ज्येष्ठ नागरिक संघ पर्सा तथा रौतहटको कटहरिया नगरपालिका–फतेपुरको सहकार्यमा धान रोपाइँ तथा दही–चिउरा खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, प्रमोदहरि गुरागाई र अञ्जु झा, मधेश प्रदेशका स्वास्थ्यमन्त्री नागेन्द्र साह, कृषिमन्त्री श्याम पटेल, प्रतिनिधिसभा सदस्य डा. फिर्दोस आलम, रौतहटका जिल्ला सभापति सुनिल यादव, किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, प्रदेश अध्यक्ष सन्तलाल साहलगायतको उपस्थिति रहेको थियो।

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले खेतमै पुगेर धान रोपाइँको शुभारम्भ गरेका थिए। सो अवसरमा उनले जलवायु परिवर्तनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यवाहक नगर प्रमुख आलमले किसानलाई आधुनिक प्रविधिको पहुँचमा पुर्‍याई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। कृषिको आधुनिकीकरणलाई स्थानीय तहबाटै प्रोत्साहन गर्ने नीति अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।

कार्यक्रममा महानगरपालिकाका कर्मचारी, कृषि क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा धान रोप्नुका साथै असार १५ को परम्पराअनुसार दही–चिउरा खाएर शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ राष्ट्रिय धान दिवस मनाएका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले परम्परागत कृषि संस्कृतिको संरक्षण गर्नुका साथै आधुनिक, उत्पादनमुखी र जलवायुमैत्री कृषिप्रति किसानलाई प्रेरित गर्ने विश्वास लिइएको छ।

Back to top