वीरगञ्ज । ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा वीरगञ्जमा २३ औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय धान दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले कृषि क्षेत्रको विकासका लागि आधुनिक तथा जलवायुमैत्री प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए । उनले महानगरपालिका किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि आवश्यक सहयोग गर्न सधैँ प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्न अनुकूलित प्रविधिको विकास र विस्तारमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
कृषि र समाजबिचको सम्बन्धबारे प्रकाश पार्दै प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले नेपाली समाजका परम्परागत पर्व, कृषि संस्कृति तथा उत्पादनमुखी जीवनशैलीलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले कृषि क्षेत्रको व्यवसायीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा किसानलाई उत्पादनमुखी बनाउन सके मात्रै मुलुक आर्थिक रूपमा समृद्ध बन्न सक्ने धारणा व्यक्त गरे ।
असार १५ लाई नेपाली समाजमा धान रोपाइँको उत्सव तथा दही–चिउरा खाने विशेष पर्वका रूपमा मनाउने परम्परा रहेको छ । कार्यक्रममा ज्येष्ठ नागरिकहरूको अनुभव र आधुनिक कृषि प्रविधिको संयोजनमार्फत देशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने सन्देश प्रवाह गरिएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक समाजका अगुवा, स्थानीय बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा दही–चिउरा ग्रहण गर्दै एकापसमा शुभकामना आदानप्रदान गरी राष्ट्रिय धान दिवस उल्लासपूर्वक मनाएका थिए ।