×

वीरगञ्ज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर वीरगञ्जको आयोजनामा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेताको अध्यक्षतामा आयोजित कार्यक्रममा हालै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा सरुवा भई आउनुभएका प्रहरी निरीक्षक श्रेष्ठलाई स्वागत गर्दै औपचारिक परिचय गराइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रुगटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार सुरेश रुगटा रहनुभएको थियो। कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा सहभागीहरूले ट्राफिक अनुशासन कायम गर्न नागरिक, समुदाय र प्रहरीबीचको समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, सदस्य, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा अध्यक्ष जयप्रकाश खेताले समुदाय र प्रहरीबीचको प्रभावकारी सहकार्यबाट सुरक्षित, व्यवस्थित र अनुशासित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै यस्ता सामुदायिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।

नवनियुक्त प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्थानीय समुदाय, सामाजिक संघसंस्था तथा सर्वसाधारणसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ट्राफिक नियमको पालना, सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

Back to top