एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा आर्थिक हिनामिनाको आरोपमा प्रहरीले सशस्त्र प्रहरीका एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विद्यालयमा कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।
सशस्त्र प्रहरी प्रधान कार्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार विद्यालयको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखी करोडौं रुपैयाँ हिनामिना गरिएको आरोपमा अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा लेखा प्रमुख गुरुङलाई घटनाको मुख्य योजनाकारका रूपमा शंका गरिएको छ।
यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनका क्रममा आर्थिक अनियमितता भएको देखिएपछि थप अनुसन्धान र मुद्दा चलाउन प्रहरीलाई जिम्मेवारी दिइएको जनाइएको छ।
मुख्य आरोपित गुरुङ विगत छ वर्षदेखि उक्त विद्यालयमा लेखापालको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। यस प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि समेत छानबिन भइरहेको प्रहरीले जनाएको छ।