सांकेतिक तस्बिर ।
वीरगञ्ज । बारासहित झापा, मोरङ, सुनसरी, महोत्तरी, चितवन र नवलपरासीमा फैलिएको बर्डफ्लु रोग नियन्त्रणमा आएको छ ।
पशु सेवा विभागले प्राविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेपछि बारा जिल्लामा रोग नियन्त्रणमा आएको जनाएको छ ।
पन्छीजन्य उच्च सङ्क्रामक रोगका रूपमा परिचित बर्डफ्लु पछिल्लो पटक ११ जिल्लामा फैलिएको थियो । तीमध्ये बारासहित ६ जिल्लामा अहिले नियन्त्रणमा आइसकेको छ भने काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने अझै पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन ।
विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार रोग नियन्त्रणका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा आवश्यक जनशक्ति परिचालन गरिएको थियो । “सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी तथा सम्बन्धित सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरियो, जसले गर्दा बारामा रोग नियन्त्रण सम्भव भयो,” उनले भने ।
रोग नियन्त्रणका क्रममा पशु क्वारेनटाइन कार्यालयले उच्च सतर्कता अपनाउँदै गस्ती परिचालन गरेको थियो । अवैध रूपमा पैठारी गरिएका पन्छीसमेत नष्ट गरिएको विभागले जनाएको छ ।
हाल बर्डफ्लु नियन्त्रणमा आइसकेपछि बारासहित अन्य प्रभावित जिल्लामा पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसार खुकुलो बनाइएको छ । यद्यपि, पुनः सङ्क्रमण फैलिन नदिन सतर्कता कायम राखिएको विभागले जनाएको छ ।
बर्डफ्लु पन्छीमा उच्च मृत्युदर हुने रोग भएकाले किसानलाई जैविक सुरक्षाका मापदण्ड पालना गर्न र कुनै शंका लागेमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन विभागले आग्रह गरेको छ ।