वीरगञ्ज । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह तथा उहाँको परिवारलाई लक्षित गर्दै अपमानजनक, गालीगलौजपूर्ण र अमर्यादित सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका पाँचथरका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
पाँचथर जिल्ला अदालतका न्यायाधीश कुमार मास्केको इजलासले असार १८ गते पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
पाँचथरको फालेलुङ गाउँपालिका–७ दोबाटेका युट्युबर पोखरेललाई गत चैत २६ गते पक्राउ गरिएको थियो। उनीमाथि फेसबुक, टिकटक, इन्स्टाग्राम तथा युट्युबमार्फत प्रधानमन्त्री र उहाँको परिवारको मान–सम्मानमा आँच पुग्ने गरी अश्लील, अपमानजनक तथा अमर्यादित सामग्री प्रसारण गरेको आरोप लागेको छ।
प्रहरीले पक्राउ गरेपछि देशभरबाट अभिव्यक्ति स्वतन्त्रताको विषय उठाउँदै आलोचना भएपछि पोखरेललाई चैत २९ गते परिवारको जिम्मा लगाइएको थियो। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत पाँचथरमा अभियोगपत्र दर्ता गरी मुद्दा दायर गरेको थियो।
अदालतको आदेशअनुसार ‘हदेस जङ्गल’ नामक फेसबुक, टिकटक र इन्स्टाग्राम आइडी प्रयोग गरी प्रधानमन्त्री र उहाँको परिवारको प्रतिष्ठामा असर पुग्ने उद्देश्यका सामग्री पोस्ट गरिएको मिसिलबाट देखिएको उल्लेख छ।
अदालत स्रोतका अनुसार बयानका क्रममा पोखरेलले कसैलाई मनसायपूर्वक हानि पुर्याउने उद्देश्य नभई सामाजिक सञ्जालमा लाइक, कमेन्ट र भ्युज बढाउने उद्देश्यले त्यस्ता भिडियो र स्टाटस पोस्ट गरेको बताएका छन्।
तर बरामद भएका डिजिटल प्रमाण, सामाजिक सञ्जालका सामग्री तथा घटनासँग सम्बन्धित प्रमाणका आधारमा हालकै अवस्थामा उनलाई निर्दोष भन्न नसकिने ठहर गर्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।