वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिनिधिसभामा उठाइएका जनसरोकारका विषय सरकारले बेवास्ता गरिरहेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले जनप्रतिनिधिहरूले सदनमा उठाएका विषयहरू सरकारसम्म प्रभावकारी रूपमा पुग्न नसकेको महसुस भइरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
“एउटा जनप्रतिनिधिले सदनमा राखेका विषयहरू यो सदनको चार दिवारभन्दा बाहिर गएर सरकारसम्म पुग्न सकिरहेका छैनन् भन्ने महसुस हामी जनप्रतिनिधिहरूले गरिरहेका छौँ,” भन्दै पन्तले सरकार जनप्रतिनिधिका आवाजप्रति संवेदनशील बन्नुपर्ने आग्रह गरे ।
त्यस्तै अर्को सन्दर्भमा बोल्दै पन्तले वीरगञ्जका अधिकांश तारे होटेलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई समेत प्रवेश गराइएको भन्ने स्थानीयवासीबाट व्यापक गुनासो आएको दाबी गरेका छन् । पर्यटन प्रवर्द्धनका लागि विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएका क्यासिनोमा प्रहरी र प्रशासनको मिलेमतोमा नेपालीहरूलाई प्रवेश दिइएको आरोप स्थानीयले लगाएको उनको भनाइ छ ।
उनले क्यासिनोको लतका कारण वीरगञ्जका व्यवसायी, युवा उद्यमी, मध्यमवर्गीय परिवार तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरू आर्थिक रूपमा समस्यामा परेको र कतिपयको व्यापार, व्यवसाय तथा पारिवारिक सम्बन्धसमेत प्रभावित भएको बताए ।
सांसद पन्तले सभामुखमार्फत सरकार र पर्सा प्रशासनलाई क्यासिनोमा नेपाली नागरिकको प्रवेश पूर्ण रूपमा रोक्न आवश्यक कदम चाल्न माग गरेका छन् ।
त्यस्तै, उनले वीरगञ्ज नाकाबाट भारततर्फ गाँजा, चरेसलगायत लागूऔषध तस्करी हुने गरेको भन्दै सीमापार भारतीय सुरक्षा निकायले पटक–पटक ठूलो परिमाणमा लागूऔषध बरामद गरिरहेको विषय सञ्चारमाध्यममा सार्वजनिक भइरहेका बेला पर्सा प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन् ।
सांसद पन्तले सामान्य नागरिकले सानो परिमाणमा सामान ल्याउँदा नियन्त्रणमा पर्ने तर मुख्य नाकाबाट ठूलो परिमाणमा लागूऔषध तथा अन्य तस्करीका सामान ओसारपसार हुँदा पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण गर्न नसकेको आरोप लगाए । उनले केही दिनअघि गृहमन्त्रीसमक्ष स्थानीयवासीले पनि यस्तै गुनासो राखेको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।