×

वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटमा युवालाई लक्षित कार्यक्रम र बजेट समावेश नगरिएको भन्दै युवाहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन्।

युवा अभियन्ता मो. नइम राईनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाम पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्रमा मधेश प्रदेशको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी हिस्सा युवाहरूको भए पनि आगामी आर्थिक वर्षको रेड बुकमा युवामुखी कुनै पनि कार्यक्रम वा बजेट समावेश नगरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।

युवाहरूले खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत युवा महाशाखा रहे पनि त्यसका लागि छुट्टै बजेट विनियोजन नगरिएको उल्लेख गर्दै नीति तथा कार्यक्रममा युवालाई प्राथमिकता दिइए पनि बजेटमा त्यसको प्रतिबिम्ब नदेखिएको आरोप लगाएका छन्।

उनीहरूले प्रदेश सभाबाट रेड बुक पारित हुनुअघि नै बजेट संशोधन गरी युवालाई लक्षित कार्यक्रम समावेश गर्न सरकारसँग माग गरेका छन्।

ज्ञापनपत्रमार्फत युवा महाशाखा तथा अन्य युवामुखी कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन, प्रदेश युवा नीति स्वीकृत गरी कार्यान्वयनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न तथा प्रदेश युवा परिषद् गठन प्रक्रिया तत्काल अघि बढाई त्यसका लागि आवश्यक बजेट व्यवस्था गर्न आग्रह गरिएको छ।

यस्तै, नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्वयंसेवा, उद्यमशीलता, नवप्रवर्तन तथा सामाजिक रूपान्तरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि पनि बजेट व्यवस्था गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझाउँदै युवा अभियन्ता मो. नइम राईनले मधेशका लाखौँ युवाको भविष्य र अवसरलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गर्दै रेड बुक पारित हुनुअघि नै बजेट सच्याउनुपर्ने बताए।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले युवाहरूका मागप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै बजेट पारित हुनुअघि आवश्यक समन्वय र सम्भावित संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन्।

Back to top