वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित जमुनिया गाउँ प्रवेश गर्ने स्थानमा निर्माण गरिएको पक्की प्रवेशद्वार (गेट) सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं पूर्व सांसद रमेश रिजालले नवनिर्मित प्रवेशद्वारको समुद्घाटन गरेका हुन्।
जगरनाथपुर गाउँपालिकाको नगरस्तरीय बजेटबाट २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त प्रवेशद्वार औपचारिक रूपमा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्षहरू सुभाष यादव, लक्ष्मी साह तेली, नेपाली कुशवाहा, बिहारी नुनिया लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले स्थानीय तहको पूर्वाधार विकासले गाउँको पहिचान स्थापित गर्नुका साथै सौन्दर्यकरण र समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
उद्घाटनसँगै जमुनिया गाउँको प्रवेशद्वारले स्थानीय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।