×

वीरगञ्ज । मधेस प्रदेशकै प्रमुख पर्यटकीय स्थल पर्साको ठोरी गाउँपालिकास्थित नेपाल–भारत सीमा नाका र ठोरी छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याउन माग गर्दै पर्यटन विकास समिति ठोरीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

सीमा नाकाबाट पर्यटकलाई प्रवेशमा रोक लगाइएपछि पर्यटन क्षेत्र गम्भीर प्रभावित बनेको जनाउँदै समितिले तत्काल पहल गर्न प्रशासनसँग आग्रह गरेको हो ।

समितिका सचिव रवि पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ठोरी नाका ऐतिहासिक, पर्यटकीय तथा आर्थिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । वि.सं. १९११ देखि सञ्चालनमा रहेको यो नाका नेपाल–भारतबिचको सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्यापारिक सम्बन्धको महत्त्वपूर्ण माध्यमका रूपमा परिचित रहेको जनाइएको छ ।

ज्ञापन पत्रमा हाल सीमा क्षेत्रमा देखिएको अवरोधका कारण स्वदेशी तथा विदेशी पर्यटक सीमाबाटै फर्किन बाध्य हुँदा होटेल तथा पर्यटन व्यवसायमा गम्भीर आर्थिक क्षति पुगेको र नेपालको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पर्न सक्ने उल्लेख छ ।

हालै सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई भन्सार प्रज्ञापन पत्र बिना प्रवेशमा रोक लगाएपछि ठोरी आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको व्यवसायीहरूको भनाइ छ । भारतीय सवारीसाधनले प्रज्ञापन पत्र लिन वीरगञ्ज पुग्नुपर्ने बाध्यताले पर्यटक निरुत्साहित बनेका छन् ।

ज्ञापन पत्रमा ठोरी छोटी भन्सार कार्यालय स्थापना भए पनि आवश्यक कर्मचारी र स्पष्ट कार्यादेश अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ । २०८३ जेठ १० गते राजपत्रमा प्रकाशित संशोधित भन्सार ऐनअनुसार ठोरी छोटी भन्सारलाई यथावत् राख्ने निर्णय भए पनि हालसम्म नियमित सेवा सुरु हुन नसकेकोप्रति ध्यानाकर्षण गराइएको छ ।

समितिले प्रशासनसमक्ष पाँच बुँदे माग प्रस्तुत गरेको छ । जसअनुसार ठोरी नाकामा पर्यटकको आवागमन तत्काल सुचारु गर्न, पर्यटकलाई अनावश्यक रूपमा फर्काउने कार्य रोक्न, छोटी भन्सार कार्यालयमा आवश्यक कर्मचारी खटाई नियमित सञ्चालन गर्न, सुरक्षा तथा राजस्व व्यवस्थापनलाई समन्वयात्मक बनाउन र ठोरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक सरकारी सहयोग उपलब्ध गराउन माग गरिएको छ ।

ठोरी क्षेत्रमा हाल ४३ वटा होटेल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका छन् भने करिब ८० करोड रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको छ । पर्यटन क्षेत्रबाट सयौँ युवाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । गत वर्ष मात्र एक लाखभन्दा बढी भारतीय पर्यटक ठोरी भित्रिएको तथ्याङ्क रहेको छ ।

व्यवसायीहरूले सीमा नाका अवरुद्ध हुँदा राज्यलाई राजस्व घाटा हुनुका साथै स्थानीय व्यापार, कृषि र सेवा क्षेत्र प्रत्यक्ष प्रभावित भएको बताएका छन् । समयमै स्पष्ट नीति र सहज व्यवस्था नगरे ठोरी क्षेत्रको पर्यटन उद्योग र अर्बौँ रुपैयाँको लगानी जोखिममा पर्ने उनीहरूको चेतावनी छ ।

ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयले विषयको गम्भीरता बुझेर आवश्यक समन्वय र पहल गर्ने विश्वास व्यक्त गरिएको छ ।

Back to top