×

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बारा परिसरमा एक सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले चासो व्यक्त गरेको छ ।

लाइसेन्ससम्बन्धी कामका लागि कार्यालय पुगेका सेवाग्राहीसँग वादविवाद भएपछि निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यसहितका कर्मचारीहरू कुटपिटमा उत्रिएको देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका छन् ।

सार्वजनिक भिडियोमा कार्यालय प्रमुख आफ्नो कार्यकक्षमा बसेका छन् । उनको अघिल्तिरको सोफामा दुई जना प्रहरी र एक कर्मचारी बसिरहेको देखिन्छ भने ढोकामा अर्को कर्मचारी उभिएका छन् । एक सेवाग्राही हातमा कार्ड देखाउँदै कार्यालय प्रमुखसँग संवाद गरिरहेका देखिन्छन् ।

केही बेरको संवादपछि उक्त सेवाग्राहीले खल्तीबाट मोबाइल निकालेर भिडियो खिच्न खोजेजस्तो देखिन्छ । त्यस लगत्तै कार्यालय प्रमुख आक्रामक बनेको दृश्यमा देखिन्छ । ढोकामा रहेका कर्मचारीले सेवाग्राहीलाई जोडले धकेल्छन् भने कार्यालय प्रमुख उठेर उनको घाँटी समातेको देखिन्छ । त्यसपछि अन्य कर्मचारीले पनि हातपात गरेको दृश्य देखिन्छ ।

सोफामा बसेका प्रहरी उठेर छुट्याउने प्रयास गर्छन् । केही बेरपछि सेवाग्राहीको मोबाइल खोसिएको र उनलाई धम्क्याइएको जस्तो दृश्य भिडियोमा कैद छ ।

प्रारम्भिक जानकारीअनुसार उक्त भिडियो सन् २०२६ मार्च १७ (गत फागुन तेस्रो साता) को रहेको बताइएको छ । घटनामा संलग्न सेवाग्राही अरुण कुशवाहा रहेको कार्यालयले जनाएको छ ।

निमित्त प्रमुख आचार्यका अनुसार कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमति पत्र (लाइसेन्स)सम्बन्धी कामका लागि कार्यालय आएका थिए । कर्मचारीलाई धाकधम्की र गालीगलौज गरेपछि विवाद बढेको र घटना भएको उनले बताए ।

आचार्यले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो पूर्ण नभई आंशिक क्लिप मात्र सार्वजनिक गरिएको दाबी गरेका छन् । उनका अनुसार घटनापछि दुवै पक्षबिच मिलापत्र भइसकेको छ ।

मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले घटनाबारे चासो व्यक्त गरेको छ । मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले भिडियो सामाजिक सञ्जालमार्फत देखेको बताउँदै यस विषयमा मन्त्रालयमा छलफल हुने जानकारी दिए । ‘मैले पनि सामाजिक सञ्जालमा भिडियो देखेको हुँ। आज मन्त्रालयमा यसबारे छलफल हुन्छ,’ उनले भने ।

निमित्त प्रमुख आचार्य अधिकृत छैटौँ तहका कर्मचारी हुन् । उनी गत पुस महिनामा यातायात व्यवस्था कार्यालय जनकपुरबाट बारा कार्यालयमा सरुवा भएर आएका थिए । यसअघि करिब पाँच वर्ष जनकपुरमा र त्यसअघि लहानमा कार्यरत थिए । बारा कार्यालयका प्रमुख अरविन्द दास (अधिकृत सातौँ) रौतहटको गौर कार्यालयमा सरुवा भएपछि आचार्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो ।

घटनापछि कार्यालयभित्र सेवाग्राहीको सुरक्षा, कर्मचारीको आचरण तथा सार्वजनिक सेवा प्रवाहमा जबाफदेहिता सम्बन्धी प्रश्न उठेका छन् । घटनाबारे थप अनुसन्धानको निष्कर्ष र मन्त्रालयको निर्णय आउन बाँकी रहेको छ ।

Back to top