×

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट १६६ किलोग्राम गाँजासहित दुई जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । निकुञ्ज क्षेत्रमा नियमित सुरक्षा गस्ती गरिरहेको सेनाको सबुज गणको टोलीले विशेष निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सोमबार सुरक्षा पोस्ट प्रतापपुरबाट खटिएको गस्ती टोलीले मकवानपुरको चुरे क्षेत्रअन्तर्गत पर्ने निकुञ्जको कोर इलाकाको बगई खोलानजिक शंकास्पद गतिविधि गरिरहेका दुई जनालाई फेला पारेको थियो । जाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलासेका ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन् । उनीहरूको साथबाट कुल १६६ किलोग्राम गाँजा बरामद गरिएको हो ।

बरामद गाँजा तथा दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरिमा बुझाइएको सेनाले जानकारी दिएको छ ।

मकवानपुर, बारा र पर्सा जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको महत्त्वपूर्ण संरक्षित क्षेत्र हो । घना जङ्गल, दुर्गम भूगोल र सीमित मानव बस्तीका कारण निकुञ्जको चुरे क्षेत्र लामो समयदेखि विभिन्न अवैध गतिविधिका लागि प्रयोग हुने गरेको स्थानीयको भनाइ छ । विशेषगरी गाँजालगायत लागूऔषध ओसारपसार गर्ने समूहहरूले जङ्गलका भित्री बाटो प्रयोग गर्ने गरेको सुरक्षा निकायको निष्कर्ष छ ।

यस्ता गतिविधि नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा नियमित गस्ती, निगरानी र सुरक्षा अभियान सञ्चालन गर्दै आएका छन् । पछिल्लो बरामद घटनाले निकुञ्ज क्षेत्रलाई लागूऔषध ओसारपसारको मार्गका रूपमा प्रयोग गर्ने प्रयास अझै जारी रहेको देखाएको छ । सुरक्षा निकायले यस्ता अवैध गतिविधिमाथि थप कडाइ गर्ने प्रतिबद्धता जनाएको छ ।

Back to top