×

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कामकाज ठप्प पारेका छन् । दोषीमाथि कडा कारबाहीको माग गर्दै कर्मचारीहरूले पेन डाउन आन्दोलन सुरु गरेका हुन् ।

गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि मङ्गलवार दिउँसो करिब १२:५१ बजे गाउँ कार्यपालिकाको कार्यालय परिसरभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप छ । घटनाको विरोधमा कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाउँदै दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

कर्मचारीहरूले कार्यालय समयमै आफ्नै जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको दाबी गर्दै यसलाई सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमणको रूपमा लिएका छन् । यस्तो घटनाले कर्मचारीहरूको मनोबल कमजोर पार्नुका साथै प्रशासनिक कामकाज र सुशासनमा नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ ।

संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा घटनाको पृष्ठभूमि स्वास्थ्य शाखाबाट सञ्चालन हुने बहु क्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित विषय रहेको उल्लेख गरिएको छ । उक्त विषयमा कम्प्युटर अपरेटर चौरसियाको व्यक्तिगत कुनै संलग्नता वा दोष नरहेको अवस्थामा उनीमाथि आक्रमण हुनु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ ।

कर्मचारीहरूले घटनामा संलग्न रहेको आरोप लगाउँदै कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नं. ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित अन्य व्यक्तिहरूमाथि सङ्घीय कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् । सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

माग सम्बोधन नभएसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कार्यालयमा काम नगरी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने तथा पेन डाउन आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

कर्मचारीहरूको आन्दोलनका कारण बुधवार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको छ भने गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयसमेत बन्द भएका छन् ।

यसैबिच, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएको जनाएको छ । अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top