वीरगञ्ज । श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत रथयात्रा तथा महोत्सवका सम्पूर्ण कार्यक्रम सार्वजनिक गर्दै श्रद्धालुहरूलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको हो।
समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे गहवा माई मन्दिर प्राङ्गणमा विशेष पूजा–अर्चना सम्पन्न गरेपछि भव्य रूपमा रथयात्रा सुरु हुनेछ। यस वर्षको रथयात्राको मुख्य आकर्षणका रूपमा हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिने कार्यक्रम तय गरिएको छ, जसले धार्मिक यात्रालाई अझ भव्य र आकर्षक बनाउने विश्वास समितिको छ।
त्यसै दिन साँझ ६ बजेदेखि मन्दिर प्राङ्गणमा भजन–कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। यस्तै, श्रावण १ गते बिहान ५ बजे ५६ भोग पूजा सम्पन्न गरिने र दिउँसो ४ बजेदेखि श्रद्धालुहरूका लागि विशाल महाप्रसाद वितरण गरिने कार्यक्रम रहेको समितिले जनाएको छ।
रथयात्रामा हजारौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गर्दै समितिले यात्राको सुरक्षा र सहज व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको जानकारी दिएको छ। साथै रथयात्रा मार्गमा भइरहेको सडक विस्तार तथा तोडफोडका काम अस्थायी रूपमा रोक्न सम्बन्धित निकायसँग अनुरोध गरिएको पनि समितिले जनाएको छ, ताकि धार्मिक यात्रामा कुनै अवरोध नआओस्।
समितिले धार्मिक, सामाजिक तथा व्यावसायिक संघ–संस्था, बुद्धिजीवी, सञ्चारकर्मी र आम नागरिकलाई चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सवमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरेको छ।