×

वीरगञ्ज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित माइधिया पोखरी छेउमा रहेको गणिनाथ गोविन्द बाबा मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षता तथा वरिष्ठ समाजसेवी एवं अधिवक्ता प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले विश्वव्यापी रूपमा बढ्दै गएको ग्लोबल वार्मिङका कारण वातावरणमा गम्भीर असर परिरहेको उल्लेख गर्दै त्यसको प्रभाव न्यूनीकरणका लागि वृक्षारोपण आजको अपरिहार्य आवश्यकता भएको बताए। उनले सबै नागरिकलाई रुख रोप्नुका साथै त्यसको संरक्षणमा पनि समान रूपमा ध्यान दिन आग्रह गरे।

उनले भने, “हामी सबै मिलेर रुख–बिरुवा रोपौं, त्यसको संरक्षण गरौं र आफ्नो तथा आउने पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण छाडेर जाऔं।”

प्रतिष्ठानकी अध्यक्ष मुना खनालले प्रकृतिलाई मानव जीवनको आधार भएको उल्लेख गर्दै “रुख रोपौं, वातावरण जोगाऔं र भावी पुस्ताको भविष्य सुरक्षित बनाऔं” भन्ने सन्देशका साथ वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, सहभागी तथा प्रतिष्ठान परिवारप्रति आभार व्यक्त गरिन्।

विशिष्ट अतिथि तथा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले वृक्षारोपणले मानव स्वास्थ्य र वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पुर्‍याउने भएकाले यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रतिष्ठानको पहलको प्रशंसा गर्दै सबैलाई वृक्षारोपणमा सक्रिय हुन आह्वान गरे।

प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जसपाल सिंहले विगतमा प्रकृतिको अत्यधिक दोहनका कारण बाढी, पहिरो, सुख्खा, डढेलो, हावाहुरीलगायतका प्राकृतिक विपद् बढ्दै गएको उल्लेख गर्दै प्रत्येक नागरिकले आफ्नो वरपर सरसफाइ गर्नुका साथै नियमित रूपमा वृक्षारोपण गरी बिरुवाको संरक्षण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिर, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्राध्यापक डा. हरेराम ठाकुर, धार्मिक अगुवा सन्तोष पटेल, आर्य समाज पर्साका अध्यक्ष रितेश गुप्ता, रेलवे माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, प्रकृति सेवा प्रतिष्ठान नेपालका प्रतिनिधि, प्रतिष्ठानका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक श्रवणबहादुर रायमाझीले व्यक्त गरेका थिए भने सञ्चालन प्रतिष्ठानका सचिव लालबाबु सिंहले गरेका थिए।

Back to top