×

वीरगञ्ज । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा शनिबारसमेत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को कार्ड लिन सेवाग्राहीको उल्लेख्य भीड लागेको छ। सार्वजनिक बिदाको दिनसमेत कार्यालयमा कार्ड वितरणको व्यवस्था गरिएकाले बिहानैदेखि सेवाग्राहीहरू लामो लाइनमा बसेर आफ्नो पालो कुरिरहेका देखिएका छन्।

वर्षौंदेखि छपाइको अभावका कारण वितरण हुन नसकेका सवारी चालक अनुमतिपत्रका कार्ड पछिल्लो तीन महिनादेखि ठूलो संख्यामा छापिएर कार्यालयहरूमा आउन थालेपछि वितरण कार्यले तीव्रता पाएको हो। यससँगै लामो समयदेखि कार्डको प्रतीक्षामा रहेका सेवाग्राहीहरू अहिले कार्ड लिन कार्यालय पुग्ने क्रम बढेको छ।

कार्यालय स्रोतका अनुसार सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न बिदाको दिनसमेत कार्ड वितरणको व्यवस्था गरिएको छ। यसबाट लामो समयदेखि लाइसेन्स कार्डको प्रतीक्षामा रहेका नागरिकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

सेवाग्राहीहरूले लामो समयपछि लाइसेन्स कार्ड प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। कार्ड वितरणको काम नियमित रूपमा जारी रहने भएकाले सम्बन्धित सेवाग्राहीलाई तोकिएको प्रक्रिया पूरा गरी कार्ड लिन कार्यालयले आग्रह गरेको छ।

Back to top