×

वीरगञ्ज । वीरगञ्जस्थित नवदीप एकेडेमीमा लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीका नवगठित २५ जना सदस्यहरूको स्वागत तथा परिचय कार्यक्रम सम्पन्न भएको छ। क्लबकी चार्टर अध्यक्ष लायन सुशीला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा समाज सेवाका विविध क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालका डिष्ट्रिक्ट गभर्नर–इलेक्ट (डीजीई) एमजेएफ लायन राम बिहारी पाण्डेले लायन्स क्लब मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गर्दै नयाँ सदस्यहरूलाई शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रियतापूर्वक योगदान गर्न आग्रह गरे।

उनले नयाँ सदस्यहरूको उत्साह, सक्रियता र समर्पणले क्लबलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सेवाभाव, नेतृत्व क्षमता र सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूबीच परिचय आदानप्रदानसँगै आगामी कार्ययोजना, सामाजिक उत्तरदायित्व, सेवामूलक अभियान तथा संस्थागत विकासका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा विपन्न समुदायको हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा जोनल चेयरपर्सन लायन सुशीला साह, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बासु तिमिल्सिना, प्रथम उपाध्यक्ष लायन उत्तम कुशवाहा, द्वितीय उपाध्यक्ष लायन रञ्जु हाडा, तृतीय उपाध्यक्ष लायन नितेश यादव, सचिव लायन नेहा अग्रवाल, कोषाध्यक्ष लायन सुष्मा मण्डल तथा क्लबका अन्य पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन गर्दै चार्टर अध्यक्ष लायन सुशीला साहले उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूप्रति आभार व्यक्त गर्दै लायन्स क्लबमार्फत समाजहितमा निरन्तर सेवामूलक गतिविधि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन्। उनले सबै सदस्यको सक्रिय सहभागिता, एकता र सहकार्यबाट क्लबलाई समाजमा उदाहरणीय सेवामूलक संस्थाका रूपमा स्थापित गर्ने विश्वाससमेत व्यक्त गरिन्।

Back to top