वीरगञ्ज । नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र भारतको नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताले सोसाइटीका सदस्य, कर्मचारी तथा उनीहरूका आश्रित परिवारजनलाई गुणस्तरीय, सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सचिव सुरेन्द्र कुमार सिंहले हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार नयी दिशा एजुकेशनल सोसाइटीका बोर्ड सदस्य, कर्मचारी, समुदायका सदस्य तथा कर्मचारीका प्रत्यक्ष आश्रित परिवारजनले नेशनल मेडिकल कलेजबाट विभिन्न स्वास्थ्य सेवामा विशेष छुट तथा प्राथमिकता प्राप्त गर्नेछन्।
सहमतिअनुसार लाभार्थीहरूले ओपीडी टिकट, बेड शुल्क, शल्यक्रिया, प्याथोलोजी परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, ईसीजी, ईको, टीएमटी तथा औषधि सेवासहितका विभिन्न स्वास्थ्य सेवामा सहुलियत पाउनेछन्। साथै, आवश्यकताअनुसार विशेष स्वास्थ्य परीक्षण (वेलनेस प्याकेज), नगदरहित (क्यासलेस) बीमा सेवाको सहजीकरण तथा नियमित स्वास्थ्य सेवामा प्राथमिकता प्रदान गरिने व्यवस्था गरिएको छ।
दुवै संस्थाबीच भएको सहकार्यअन्तर्गत प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, आवश्यकताअनुसार स्वास्थ्य सचेतनामूलक कार्यक्रम आयोजना गर्ने तथा संयुक्त स्वास्थ्य एवं सामाजिक गतिविधि सञ्चालन गर्ने सहमति समेत भएको छ।
सम्झौताले नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सदस्य तथा उनीहरूका परिवारजनलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनुका साथै नेपाल–भारतबीच स्वास्थ्य सेवाको क्षेत्रमा संस्थागत सहकार्यलाई थप मजबुत बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।
सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कण्ठ, प्रशासन अधिकृत पप्पु सिंह तथा नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।