वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मुलुक अहिले गम्भीर संकटको अवस्थामा रहेको र जनतामा निराशा बढ्दै गएको भन्दै संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई राष्ट्रिय हितका लागि एकजुट हुन आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सभामुखमार्फत सरकारलाई संसद्मा रहेका सबै दलबीच सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरे। उनले दलहरूबीचको मतभेदभन्दा माथि उठेर राष्ट्रिय मुद्दा तय गर्दै साझा रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, “संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं। हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ।”
सांसद सिंहले राज्य र जनता सुरक्षित रहे मात्र राजनीतिक गतिविधि सम्भव हुने उल्लेख गर्दै राजनीतिक प्रतिस्पर्धाका नाममा जनतामा थप निराशा फैलाउने कार्य नगर्न सबै दललाई आग्रह गरे।
उनले भने, “आज हाम्रो राज्य संकटमा छ। जनतामा नैराश्यता छ। यो देशमा बाँच्न सकिन्न, केही गर्न सकिन्न भन्ने भाष्य संसद्बाट निर्माण नगरौं। संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण दललाई आग्रह गर्न चाहन्छु, यसलाई घोचपेचको विषय नबनाऔं। राज्य र जनता रह्यो भने फेरि राजनीति गरौंला। जनता र लोकतन्त्र नै समाप्त भयो भने हामी कोही पनि रहँदैनौं।”
सांसद सिंहले देशमा बढ्दो निराशा अन्त्य गर्न सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, उनले यसै साताको आत्मदाह प्रयासपछि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता घटनाले मुलुकको वर्तमान अवस्था गम्भीर रहेको संकेत गरेको बताए।
उनले राजनीतिक दलहरूबीच आपसी आरोप–प्रत्यारोपभन्दा पनि राष्ट्रिय एकता, लोकतन्त्रको संरक्षण र नागरिकको विश्वास कायम गर्न केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।