एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेबीच भएको पछिल्लो छलफलमा सरकारका केही मन्त्रीहरूको कार्यसम्पादन तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाबारे गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन्। सेयर बजारमा देखिएको समस्या, पुँजी निर्माणभन्दा वैदेशिक ऋणमा बढी जोड दिएको तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट प्रस्तुत गर्न नसकेको विषयमा प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।
त्यस्तै, धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त गरिएको विषय पनि प्रधानमन्त्रीको असन्तुष्टिको अर्को कारण बनेको बताइएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थमन्त्री वाग्लेले आफ्ना निकटस्थ व्यक्तिलाई नियुक्त गरेर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सिर्जना गरेको आरोप लगाइएको छ।
प्रधानमन्त्री निकट स्रोतले भनेको छ, “अर्थमन्त्रीकै कारण सेयर बजार समस्याग्रस्त बनेको छ। धितोपत्र बोर्डको अध्यक्षमा स्वर्णिमका बिजनेस पार्टनर गोपालप्रसाद भट्ट नियुक्त भए। ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी आफ्ना निकट व्यक्तिलाई जिम्मेवारी दिने काम भएको छ।”
यता, पार्टी सभापति रवि लामिछाने पनि सरकारका केही मन्त्रीहरूको कार्यसम्पादनप्रति सन्तुष्ट नरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल तथा कृषिमन्त्री गीता चौधरीको कार्यसम्पादनबारे प्रश्न उठाएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्रीले संस्थापन पक्ष निकट अर्थमन्त्री वाग्लेमाथि प्रश्न उठाएपछि सभापति लामिछानेले पनि प्रधानमन्त्री निकट मानिएका मन्त्रीहरूको भूमिकामाथि समीक्षा आवश्यक रहेको धारणा राखेका थिए।
यसैबीच, संस्थापन पक्षले प्रधानमन्त्रीबाट मन्त्रालयहरूको दैनिक कामकाजमा अनावश्यक हस्तक्षेप बढेको गुनासो समेत गरेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री शाहले असार २४ गते नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए। उक्त छलफलमा अर्थमन्त्री वाग्ले सहभागी नभएपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीचको असहजता बढेको चर्चा चलेको थियो। त्यसपछि पार्टी सभापति लामिछानेले दुवै नेताबीच समन्वय र सहजीकरणको भूमिका खेलेको स्रोतले जनाएको छ।
छलफलका क्रममा कार्यसम्पादनका आधारमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने विषयमा प्रारम्भिक छलफल समेत भएको स्रोतको दाबी छ। तर प्रधानमन्त्रीको सचिवालयले भने तत्काल मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको स्पष्ट पारेको छ।
यद्यपि, यी विवरणहरू सरकारी रूपमा पुष्टि भएका छैनन् र सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।