वीरगञ्ज । महिलालाई पटक–पटक अश्लील तथा अपमानजनक सन्देश पठाई चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको तार्केश्वर गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–बुढानिलकण्ठ नगरपालिका–१०, कपन बस्दै आएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल रहेका छन्।
प्रहरीका अनुसार खनालले एक महिलालाई निरन्तर अश्लील तथा अपमानजनक सामग्री पठाई मानसिक तनाव सिर्जना गर्नुका साथै चरित्रहत्या गर्ने उद्देश्यले साइबर माध्यमको दुरुपयोग गरेको आरोप लागेको छ। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जाल, विद्युतीय माध्यमको दुरुपयोग गरी कसैको चरित्रहत्या गर्ने, अश्लील सामग्री पठाउने वा मानसिक दुःख दिने कार्य विद्युतीय कारोबार ऐन तथा प्रचलित कानुनअनुसार दण्डनीय अपराध भएको भन्दै यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।