वीरगञ्ज। वीरगञ्ज हेल्थ केयर सेन्टरले प्रयोगशाला सेवालाई थप आधुनिक, छिटो र विश्वसनीय बनाउन अत्याधुनिक रक्त परीक्षण मेशीन सञ्चालनमा ल्याएको छ। नयाँ प्रविधिको शुभारम्भसँगै अब विभिन्न प्रकारका रक्त परीक्षणका साथै क्यान्सरसँग सम्बन्धित केही विशेष परीक्षणसमेत अस्पतालमै उपलब्ध हुने भएको छ।
अस्पतालका अनुसार नयाँ मेशीनमार्फत परीक्षणको नतिजा छिटो, शुद्ध र विश्वसनीय रूपमा प्राप्त हुने भएकाले सेवाग्राहीले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पाउनेछन्। सेवाको औपचारिक शुभारम्भ विशिष्ट व्यक्तिहरूले रक्त परीक्षण गराएर गरिएको थियो।
वीरगञ्ज हेल्थ केयर सेन्टरका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. अबुल हैस अन्सारीले अत्याधुनिक उपकरण सञ्चालनमा आएपछि पर्सा, बारा, रौतहटलगायत आसपासका जिल्लाका बिरामीहरूले कम शुल्कमै उच्चस्तरीय प्रयोगशाला सेवा प्राप्त गर्न सक्ने बताउनुभयो।
उहाँले अस्पतालले आगामी दिनमा पनि आधुनिक स्वास्थ्य उपकरण तथा प्रविधि थप गर्दै विशेषज्ञ सेवाको दायरा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
अस्पतालले नयाँ प्रविधिको प्रयोगसँगै स्थानीयस्तरमै गुणस्तरीय परीक्षण सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। यसबाट उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने र बिरामीहरूले समयमै आवश्यक परीक्षण सेवा पाउने अपेक्षा गरिएको छ।