रक्सौल । भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत रक्सौल प्रहरीले ९.६० ग्राम ब्राउन सुगरसहित दुई नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि भारतको लागूऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ।
रक्सौलका एसडीपीओ मनीष आनन्द तथा रक्सौल थाना प्रमुख रमेश कुमार महतोको नेतृत्वमा गठित विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा रेलवे स्टेशन रोडस्थित नकाशा होटल नजिक र नागा रोडको जिल्ला परिषद् मार्केट क्षेत्रमा एकैसाथ छापा मारेको थियो।
घेराबन्दीका क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट ९.६० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नेपालका मकवानपुर जिल्ला, हेटौँडा निवासी २२ वर्षीय दिपेश थिङ, २४ वर्षीय सागर कार्की तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, रक्सौल नगरपालिका–२० निवासी २६ वर्षीय टार्जन आलम रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकल र तीन थान मोबाइल फोन पनि बरामद गरेको छ। बरामद गरिएका मोबाइल फोनको कल डिटेल तथा अन्य डिजिटल प्रमाणको विश्लेषण गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध रक्सौल थानामा भारतको एनडीपीएस (लागू औषध तथा मनोद्दीपक पदार्थ) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ।
एसडीपीओ मनीष आनन्दका अनुसार घटनामा संलग्न सम्पूर्ण लागूऔषध सञ्जालको खोजी तीव्र बनाइएको छ। बरामद गरिएको ब्राउन सुगर कहाँबाट ल्याइएको थियो, कसलाई आपूर्ति गर्ने योजना थियो र यसको मुख्य सञ्चालक को हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको उनले बताए।
भारत–नेपालको खुला सीमालाई प्रयोग गरी हुने लागूऔषध तस्करी नियन्त्रण गर्न सुरक्षा निकायले सीमाक्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ। प्रहरीले 'जिरो टोलरेन्स' नीतिअन्तर्गत लागूऔषध तस्करीविरुद्ध यस्ता विशेष अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने स्पष्ट पारेको छ।