×

वीरगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल, वडा प्रहरी कार्यालय बिर्ता तथा वीरगञ्ज युवा समाज र अभिभावक संघ पर्साको संयुक्त आयोजनामा ‘महिला हिंसाविरुद्ध’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा पर्सा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा निर्णायक मण्डलमा हेमा थापा, सलमा खातुन र राजेन्द्र सिंह रहेका थिए। साथै वीरगञ्ज युवा समाजका अध्यक्ष सञ्जीव थापा, अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साह, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, शिक्षाविद् मार्टिन मोक्तान, नरेन्द्र अग्रवाल, नेपाल स्काउट पर्साका संयोजक उमेश गुप्ता, सञ्चारकर्मी सन्तोष रञ्जितकार, सामुदायिक प्रहरीका पदाधिकारी तथा विभिन्न विद्यालयका शिक्षक–विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीएसपी राजु कार्कीले महिला हिंसा समाजको गलत सोच र विभेदपूर्ण संस्कारको परिणाम भएको उल्लेख गर्दै छोराछोरीबीच हुने भेदभाव अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले घरबाटै समान व्यवहारको अभ्यास भए महिला हिंसामा उल्लेख्य कमी आउने विश्वास व्यक्त गरे।

उनले विद्यार्थीहरूलाई शिक्षा, अनुशासन र सकारात्मक सोचमार्फत समाज परिवर्तनको नेतृत्व गर्न आग्रह गर्दै सामाजिक सञ्जालको सदुपयोग गर्न, लागूऔषधबाट टाढा रहन तथा हिंसाविरुद्ध सधैं आवाज उठाउन प्रेरित गरे। नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि सधैं साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

विशिष्ट अतिथि प्रहरी निरीक्षक विक्रम सुवेदीले विशेषगरी मधेश प्रदेशमा महिला हिंसाका घटना चिन्ताजनक रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि विद्यार्थी, अभिभावक र समाजका सबै पक्षले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले महिला हिंसाविरुद्ध नेपाल प्रहरी निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले महिलामाथि हुने हिंसा सभ्य समाजका लागि कलंक भएको उल्लेख गर्दै शिक्षा, समान व्यवहार, संस्कार र सामाजिक चेतनामार्फत मात्र हिंसामुक्त समाज निर्माण सम्भव हुने धारणा राखेका थिए। उनीहरूले महिला हिंसाको खुलेर विरोध गर्न र यसको न्यूनीकरणका लागि सबैलाई एकजुट हुन आग्रह गरेका थिए।

प्रतियोगितामा पाँच विद्यालयका पाँच छात्राले सहभागिता जनाएका थिए। कञ्चनजङ्घा स्कुलकी उमिता कार्की प्रथम, विद्यापीठ स्कुलकी अमृता प्रजापति द्वितीय तथा इन्दु लाखे स्कुलकी छात्रा तृतीय भएकी थिइन्। त्रिभुवन स्कुल चौथो र मास्कोट एकेडेमी पाँचौं स्थानमा रहे। विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागीलाई पनि प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बिपिसी कलेजका सहप्रधानाध्यापक विनयकुमार ठाकुर, निर्णायकहरू सलमा खातुन र राजेन्द्र सिंह, सञ्चारकर्मी लालबाबु सिंह, नेपाल स्काउटका संयोजक उमेश गुप्ता लगायतले मन्तव्य राख्दै यस्ता सचेतनामूलक कार्यक्रमले महिला हिंसा न्यूनीकरणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक प्रहरीका सल्लाहकार मार्टिन मोक्तानले राखेका थिए भने सञ्चालन सचिव श्रवणबहादुर रायमाझीले गरेका थिए।

Back to top