वीरगञ्ज । नेपाल–भारत मैत्री युवा संघ, पर्सा नेपालको आयोजनामा वीरगञ्ज महानगरपालिका–स्थित टाउन हल प्राङ्गणमा लागुऔषधविरुद्ध जनचेतना अभियान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
संघका अध्यक्ष शैलेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल–भारत मैत्री युवा संघका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, भारतको महावाणिज्य दूतावास वीरगञ्जका प्रतिनिधि देवी सहाय मीना, मधेश प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री लगायत विभिन्न सामाजिक, राजनीतिक तथा युवासम्बद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लागुऔषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै युवापुस्तालाई यसबाट टाढा राख्न परिवार, विद्यालय, समुदाय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले जनचेतनामूलक अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका थिए।
आयोजकका अनुसार अभियानको उद्देश्य युवामाझ लागुऔषधको दुष्प्रभावबारे सचेतना फैलाउनु, सामाजिक उत्तरदायित्वप्रति जागरुक बनाउनु तथा स्वस्थ र सभ्य समाज निर्माणमा सबै पक्षलाई एकजुट गराउनु रहेको छ।
कार्यक्रम सहभागीहरूले यस्ता जनचेतनामूलक अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।