×

जनकपुरधाम । करिब तीन महिना अघि मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको सक्रियतामा जनकपुरधामका मुख्य सडक पेटी र फुटपाथ अतिक्रमणमुक्त बनाइएपछि व्यवस्थित देखिएको नगर अहिले पुनः पुरानै अवस्थामा फर्किएको छ। मुख्य सडकका फुटपाथ तथा सडक पेटी फेरि ठेला, फलफूल र तरकारी व्यवसायीको कब्जामा परेपछि सर्वसाधारण, पैदलयात्री तथा सवारी चालकले सास्ती खेप्न थालेका छन्।

त्यतिबेला गृहमन्त्री महतो स्वयं फिल्डमा खटिएर जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, जनकपुरधाम उपमहानगरपालिका तथा उद्योग वाणिज्य संघसँगको समन्वयमा जानकी मन्दिर आसपास, अस्पताल रोड, रामानन्द चोक, शिव चोक, जनक चोक र पिडारी चोकलगायत क्षेत्रको अतिक्रमण हटाएका थिए। त्यसपछि सडकहरू व्यवस्थित बनेका थिए भने धार्मिक पर्यटक, विद्यार्थी र स्थानीय नागरिकलाई आवतजावतमा सहज भएको थियो।

तर केही महिनामै ती क्षेत्र पुनः अतिक्रमित बनेका छन्। विशेषगरी रामानन्द चोक, पिडारी चोक र अस्पताल रोडमा सडकको ठूलो भाग फलफूल तथा तरकारीका ठेलाले ओगटेका छन्। अस्पताल रोडमा बिहानदेखि रातिसम्म सडकको दायाँबायाँ दर्जनौं चारपाङ्ग्रे ठेला राखिँदा सवारी आवागमन प्रभावित हुने गरेको स्थानीयको गुनासो छ।

जनकपुर–१३ का ई–रिक्सा चालक रामलाल पासवानले गृहमन्त्रीको सक्रियतापछि सडक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको भए पनि त्यसलाई निरन्तरता दिन नसकिएको बताए। उनका अनुसार अहिले सडक पुनः पुरानै अव्यवस्थित अवस्थामा फर्किएकाले पैदलयात्री, साइकलबाहक तथा सवारी चालक सबै समस्यामा परेका छन्।

जनकपुरधाम–१० का स्थानीय संजीव कर्णले पनि एकपटक सुधारिएको अवस्थालाई निरन्तर कायम राख्न सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने बताए। उनका अनुसार व्यवस्थापनलाई दीर्घकालीन बनाउन निरन्तर निगरानी र समन्वय आवश्यक छ।

स्थानीयवासी तथा सरकारी कर्मचारीहरूका अनुसार मधेसमा कुनै पनि सुधारात्मक अभियानलाई निरन्तरता दिन नसक्नु प्रमुख कमजोरी बनेको छ। उनीहरूका अनुसार सुरुवातमा आक्रामक रूपमा अभियान सञ्चालन गरिए पनि त्यसको नियमित अनुगमन र कार्यान्वयन नहुँदा पुरानै समस्या दोहोरिने गरेको छ।

यता मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले सडक व्यवस्थापन अभियानलाई निरन्तरता दिन स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको दाबी गरेका छन्। उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न कानुनी अड्चन देखाउँदै पर्याप्त सहकार्य नगरेकाले अभियानलाई निरन्तरता दिन कठिनाइ भएको हो।

जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार र स्थानीय तहले सरसफाइ तथा सौन्दर्यीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर सडक व्यवस्थापनजस्तो सार्वजनिक सरोकारको विषयमा प्रदेश सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा त्यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकले भोग्नुपरेको स्थानीयवासीको गुनासो छ।

Back to top