×

सप्तरी । सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। प्रहरीले यो घटना दुर्घटना हो वा हत्या भन्ने विषयमा गहन अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजार क्षेत्रमा ठक्कर लागेर १४ वर्षीय किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर घटनास्थलबाट भाग्ने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय एक्लो छोरा मोहम्मद सादिक रहेका छन्।

प्रहरीका अनुसार प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले बिसनपुर–बोदेबरसाईन सडकखण्डमा शंकास्पद रूपमा गुडिरहेको बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकल पछ्याएको थियो। मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाईन नगरपालिका–२ हुँदै खडक नगरपालिका–१ स्थित दिनाभद्री थान नजिक शव फालेर भाग्ने प्रयास गरेका थिए।

सो क्रममा स्थानीयवासीको सहयोगमा प्रहरीले भारतको मधुवनी जिल्ला, खतौनी पिपराही निवासी २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका मो. सादर नट बोदेबरसाईन नगरपालिका–५ स्थित सोनु मिट हाउसमा काम गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनाको वास्तविक प्रकृति पत्ता लगाउन अनुसन्धान जारी रहेको छ। दुर्घटना वा हत्या भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले बताए।

घटनापछि आक्रोशित आफन्त तथा स्थानीयवासीले बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गर्दै दोषीमाथि कडा कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए।

प्रहरीले फरार रहेका अर्का व्यक्तिको खोजी तीव्र बनाइएको तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

Back to top