×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ। तर, जिल्लाका विभिन्न खोलाबाट दैनिक रूपमा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा तस्करी भइरहेको भन्दै स्थानीयवासीले प्रभावकारी नियन्त्रणको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मङ्गलवार दिउँसो प्रहरी चौकी बडनिहारबाट खटिएको गस्ती टोलीले पर्सागढी नगरपालिका–३ स्थित भेडाहा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरी बडनिहारतर्फ आउँदै गरेको ना.४ त ६२४६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न चालकलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार प्रहरीले समय–समयमा केही सवारीसाधन नियन्त्रणमा लिए पनि जिल्लाभर फैलिएको अवैध उत्खननको समस्या भने नियन्त्रणमा आउन सकेको छैन। स्थानीय वडा सदस्य राधेश्यामकुमार यादवले भेडाहा, कर्जनिया, गादी, जमुनिया, भलुवाहीलगायत आधा दर्जनभन्दा बढी खोलाबाट दैनिक रूपमा प्राकृतिक स्रोतको अवैध दोहन भइरहेको दाबी गरे।

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालय तथा वन व्यवस्थापन समूहजस्ता सम्बन्धित निकायको उपस्थिति हुँदाहुँदै पनि अवैध उत्खनन र तस्करी नियन्त्रण हुन नसक्दा स्थानीयमा असन्तुष्टि बढ्दै गएको छ। जिल्ला तहबाट नियमित तथा आकस्मिक अनुगमन गरिए वास्तविक अवस्था बाहिर आउने उनको भनाइ छ।

स्थानीय अभिषेक चौधरीका अनुसार अवैध रूपमा उत्खनन गरिएको बालुवा र गिट्टी प्रतिट्याक्टर ३ हजार ५०० देखि ४ हजार रुपैयाँ तथा ढुङ्गा ५ हजारदेखि ६ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ। यसरी उत्खनन गरिएका निर्माण सामग्री स्थानीय बजारमै सहज रूपमा बिक्री वितरण भइरहेको उनले बताए।

यस्तै, पर्सागढीका लखन दासका अनुसार खोलाबाट उत्खनन पूर्ण रूपमा बन्द भएका बेला बजारमा निर्माण सामग्रीको मूल्य दोब्बरसम्म पुग्ने गरेको छ। आधिकारिक क्रसर उद्योगहरू टाढा हुनु, ढुवानी खर्च महँगो पर्नु र उद्योगहरूले उच्च मूल्य लिने गरेका कारण धेरै उपभोक्ता बाध्य भएर अवैध रूपमा बिक्री हुने निर्माण सामग्री खरिद गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

जीराभवानी–शङ्करसरैयाका आँसु साहले पनि क्रसर उद्योगको तुलनामा तस्करमार्फत आउने सामग्री सस्तो र छिटो उपलब्ध हुने भएकाले स्थानीय उपभोक्ता त्यसैतर्फ आकर्षित हुने गरेको बताए।

स्थानीय बासिन्दाले एक–दुई वटा ट्याक्टर नियन्त्रणमा लिनुभन्दा जिल्लाभर फैलिएको अवैध उत्खननको सञ्जाल पहिचान गरी दीर्घकालीन रूपमा नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले वातावरणीय सन्तुलनमा समेत गम्भीर असर पार्ने भएकाले नियमित अनुगमन, कडा कानुनी कारबाही र प्रभावकारी नियन्त्रण आवश्यक रहेको उनीहरूको भनाइ छ।

Back to top