वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विशेष आर्थिक सहयोगमा पर्साको ग्रामीण क्षेत्रमा पहिलोपटक प्राविधिक धारअन्तर्गत टेक्निकल कम्प्युटर इन्जिनीयरिङ विषयको अध्यापन शुरू गरिएको छ । पर्सागढी नगरपालिका–९ बडेर्वास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तीन शैक्षिक सत्रदेखि यस विषयको पढाइ निरन्तर जारी छ ।
विद्यालयका प्रधानाध्यापक चेतमनप्रसाद दास थारूका अनुसार ग्रामीण भेगका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थी तथा अभिभावक दुवैलाई अत्यधिक राहत पु¥याएको छ । प्राविधिक विषय पढ्न विगतमा काठमाडौं, भरतपुर वा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेका कारण गाउँकै विद्यालयमा निशुल्क प्राविधिक शिक्षा लिन पाउँदा स्थानीय विद्यार्थी उत्साहित छन् ।
हाल कक्षा ९ मा ३०, कक्षा १० मा २६ र कक्षा ११ मा ८ जना गरी कुल ६४ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूको प्रयोगात्मक सिकाइ सहज बनाउन ३५ वटा कम्प्युटर जडान गरिएको विद्यालयले जनाएको छ । तीनजना दक्ष कम्प्युटर इन्जिनीयर प्रशिक्षक राजीव यादव, उज्ज्वल पटेल र रितेश सर्राफले अध्यापन गराइरहेका छन् ।
कक्षा १० की छात्रा पुष्पा चौधरीले गाउँमै टेक्निकल कम्प्युटर इन्जिनीयरिङ पढ्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताइन् । कक्षा ९ की अञ्जली चौधरी भन्छिन्, “पहिले यस्तो विषय पढ्न बाहिर जानुपर्थ्यो, धेरै खर्च लाग्थ्यो । अहिले घरकै खाना खाएर नजिकैको विद्यालयमा पढ्न पाउँदा अभिभावकको भार पनि कम भएको छ ।”
प्रधानाध्यापक थारूका अनुसार प्राविधिक धार भित्र्याउन शिक्षा विभाग र मन्त्रालयमा धेरै मेहनत र पहल गरिएको थियो । पर्साको ग्रामीण क्षेत्रमा टेक्निकल कम्प्युटर इन्जिनीयरिङ अध्यापन हुने यो पहिलो विद्यालय भएको दाबी पनि उनले गरे ।
सरकारले हरेक वडामा एक प्राविधिक (टेक्निकल कम्प्युटर इन्जिनीयर) पदस्थापन गर्ने तयारी गरिरहेको अवस्थामा यो कोर्ष पूरा गर्ने विद्यार्थीहरू दक्ष र रोजगारका अवसरमा प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।
निवर्तमान वडाध्यक्ष रामनारायण गौरो थारूले यो कार्यक्रमले ग्रामीण विद्यार्थीलाई सुनौलो अवसर प्रदान गरेको बताए । उनले भने, “यसले गाउँका छोराछोरीलाई प्राविधिक रूपमा सक्षम बनाउनुका साथै अभिभावकको आर्थिक बोझ पनि कम गरेको छ । घरमै बसेर भविष्य निर्माण गर्ने उत्कृष्ट अवसर सबैले सदुपयोग गर्नुपर्छ ।”
यससँगै ग्रामीण क्षेत्रमै गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच विस्तार भएको भन्दै स्थानीयवासी पनि खुसी व्यक्त गरिरहेका छन् ।