वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले मङ्गलवार वीरगञ्जस्थित नारायणी अस्पतालमा आकस्मिक अनुगमन गरेका छन् ।
बिरामीहरूबाट ओपिडीमा ढिलासुस्ती, चिकित्सकहरूको अनुपस्थिति तथा अस्पतालको सरसफाइ कमजोर भएको व्यापक गुनासो आएपछि उनी आफैँ अस्पताल पुगेका हुन् ।
झन्डै आधा घण्टासम्म चलेको अनुगमनका क्रममा सिडिओ दाहाल नेतृत्वको टोलीले ओपिडी कक्ष, बिरामी प्रतीक्षालय, शौचालयलगायत विभिन्न विभागको निरीक्षण गरे । अनुगमनमा चिकित्सकहरू समयमा नआउने, तोकिएको समयअघि नै ओपिडी छोड्ने र अस्पताल परिसर तथा शौचालयको सरसफाइ सन्तोषजनक नभएको पुष्टि भएको थियो । सेवाग्राहीहरूले यिनै विषयमा बारम्बार असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
अनुगमनपछि अस्पताल प्रशासनलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले सेवा प्रवाहमा तत्काल सुधार ल्याउन स्पष्ट र कडा निर्देशन दिए । उनले स्वास्थ्यकर्मीहरूले अनिवार्य समय पालना गर्नुपर्ने, ओपिडी सेवा तोकिएको समयसम्म निरन्तर सञ्चालन गर्नुपर्ने, अस्पताल परिसर र शौचालयको सरसफाइ तुरुन्त सुधार गर्नुपर्ने तथा बिरामीहरूसँग सधैँ नम्र, मुस्कानसहितको सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिए ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरंजन ञ्जन साहले अनुगमनमा औँल्याइएका सबै कमी-कमजोरीलाई शीघ्र सुधार गरी सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, अस्पतालका सूचना अधिकारी उदय नारायण सिंहले ओपिडीमा सबै टोकन सकिएपछि मात्र चिकित्सकहरू कार्यकक्षतर्फ जाने गरेको हुन सक्ने स्पष्टीकरण दिए । उनले आन्तरिक समन्वयलाई थप मजबुत बनाएर सेवाको निरन्तरता सुनिश्चित गरिने बताए ।
अनुगमन टोलीले बिरामीलाई सहज, गुणस्तरीय र समयमै सेवा उपलब्ध गराउन अस्पताल प्रशासनले थप गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिँदै अनुगमन सम्पन्न गरेको थियो । पछिल्लो समय नारायणी अस्पतालको सेवा प्रवाहमा देखिएको कमजोरीले स्थानीय बिरामीहरूमा ठूलो असन्तुष्टि छाएको छ । सिडिओको दाहालको छड्के अनुगमन र निर्देशनले सेवा सुधारको आशा जगाएको सेवाग्राहीहरूले बताएका छन् ।