×

वीरगञ्ज । तीन वर्षअगाडीसम्म अनिवार्य रूपमा पढाइँदै आएको कम्प्युटर शिक्षा ऐच्छिक बनाएपछि पर्सा जिल्लाका सामुदायिक विद्यालयमा कम्प्युटर विषयको अध्ययन उल्लेखनीय रूपमा कमजोर भएको छ। अनिवार्य भएपछि विद्यालयहरूले कम्प्युटर ल्याब निर्माणदेखि उपकरण खरीदीसम्म तयारी गरेका भए पनि अहिले विषयगत शिक्षक अभाव र ऐच्छिक प्रणालीका कारण कम्प्युटर शिक्षा प्रभावहीन बनेको छ।

अघिल्लो संरचनामा अनिवार्य भएकाले धेरै सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गरिएको थियो। केही विद्यालयमा प्रयोगात्मक शिक्षा राम्रो थियो भने कतिपयमा नाम मात्रको अध्यापन हुँदै आएको थियो। ल्याब त निर्माण भयो तर प्रयोगात्मक कक्षा चलाउन प्राविधिक जनशक्ति अभाव देखिँदै आएको शिक्षाकर्मीहरूको भनाइ छ।

ऐच्छिक बनेसँगै विद्यालयमा कम्प्युटर पढाउने विद्यार्थी संख्या दिनप्रतिदिन घट्दै गएको छ। विषयगत शिक्षक नहुँदा अन्य विषयका शिक्षकमार्फत कक्षा सञ्चालन हुने गरेको र यसले विद्यार्थीहरूको जिज्ञासा समाधान तथा प्रयोगात्मक सीप विकासमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो छ। प्रयोगात्मक कार्य रोकिएपछि विद्यार्थीको लगाव झनै कम हुँदै गएको छ।

पोखरिया नगरपालिकाको रानीगंजस्थित पद्म महोवनी माध्यमिक विद्यालयका प्रधानाध्यापक पर्वत ठाकुरका अनुसार अनिवार्य शिक्षा अवधिमा खरिद गरिएका सात थान कम्प्युटर अहिले प्रयोगविहीन अवस्थामा बक्सामै थन्किएका छन्। “विषयगत शिक्षक छैनन्, पढाइ पनि हुँदैन। विद्यार्थीको गुणस्तर वृद्धि होस् भनेर गरिएको लगानी अहिले बेकार भएको छ,” प्रधानाध्यापक ठाकुरले बताए।

पोखरिया नगरपालिकाभित्रका जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, नेपाल राष्ट्रिय मावि जगतपुर, नेपाल राष्ट्रिय कन्या मावि सतवरियालगायत विद्यालयहरूमा ७ देखि १५ वटासम्म कम्प्युटर रहे पनि विषयगत शिक्षक अभावकै कारण कम्प्युटर शिक्षा प्रभावित बनेको छ। ल्याब भए पनि प्रयोगात्मक कक्षा सञ्चालन नहुँदा पूर्वाधार उपयोग नै ठप्प छ।

विषयगत शिक्षकको अभाव, ऐच्छिक बनाइएको प्रणाली र प्रयोगात्मक कक्षा नचल्दा पर्सा जिल्लामा कम्प्युटर शिक्षाको गुणस्तर दिनानुदिन कमजोर हुँदै गएको शिक्षा क्षेत्रमा संलग्नहरू बताउँछन्।

Back to top