×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिकामा धान रोप्ने क्रममा परेको चट्याङ लागेर सात जना महिला किसान घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रको खेतमा धान रोपाइँ गरिरहेका बेला वर्षासँगै परेको चट्याङले उनीहरू घाइते भएका हुन्।

घाइते हुनेमा स्थानीय ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

अन्य छ जना घाइतेलाई थप उपचारका लागि भारतको रक्सौलस्थित डंकन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उपचाररत घाइतेमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।

घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

Back to top