×

फेसन केवल महँगो कपडा लगाउनु वा नयाँ ट्रेन्ड पछ्याउनु मात्र होइन, स–साना विवरणहरूको सही संयोजन पनि हो । आकर्षक पहिरन, मिल्दो मेकअप र सुन्दर हेयरस्टाइलले मात्र पूर्णलुक बन्दैन । धेरै पटक मानिसको ध्यान अन्तिममा जुत्तामै जान्छ ।

त्यसैले स्टाइल विज्ञहरू भन्छन् ‘राम्रो जुत्ताले साधारण पहिरनलाई पनि आकर्षक बनाउन सक्छ भने गलत छनोटले उत्कृष्ट पहिरनको प्रभावसमेत कम गर्न सक्छ ।’

अहिले सामाजिक सञ्जाल, विशेषगरी टिकटक, इन्स्टाग्राम र पिन्टरेस्टमा एउटा नयाँ फेसन ट्रेन्ड निकै चर्चामा छ, जसलाई ‘रङ सु थ्योरी’ भनिन्छ । नाम सुन्दा जुत्ता गलत छान्ने सल्लाहजस्तो लागे पनि यसको वास्तविक अर्थ भने बिल्कुल फरक छ ।

के हो ‘रङ सु थ्योरी’ ?

‘रङ सु थ्योरी’ भनेको पहिरनसँग सबैले अपेक्षा गर्ने जुत्ता लगाउनुको सट्टा, पहिलो नजरमा अलि फरक वा अनपेक्षित देखिने जुत्ता प्रयोग गरेर नयाँ स्टाइल सिर्जना गर्नु हो ।

यसको उद्देश्य पहिरन र फुटवेयरबीच सन्तुलित ‘कन्ट्रास्ट’ बनाउनु हो । यही कन्ट्रास्टले साधारण लुकलाई पनि आकर्षक, आधुनिक र व्यक्तित्व झल्काउने बनाउँछ ।

उदाहरणका लागि, जहाँ वनपिस ड्रेससँग सामान्यतया हाई हिल वा स्यान्डल लगाइन्छ, त्यहाँ स्निकर्स वा चंकी बुट्स प्रयोग गर्दा लुक एकाएक फरक देखिन्छ । त्यस्तै साडीसँग स्निकर्स, औपचारिक सूटसँग लोफर्स वा स्पोर्टी जुत्ता जस्ता प्रयोग पनि यही अवधारण अन्तर्गत पर्छन् ।

किन लोकप्रिय बन्दै छ यो ट्रेन्ड ?

फेसनमा अहिले ‘परफेक्ट म्याच’ भन्दा पनि व्यक्तिगत शैलीलाई बढी महत्व दिन थालिएको छ । सेलिब्रेटी, फेसन इन्फ्लुएन्सर र डिजाइनरहरूले पनि परम्परागत नियम तोडेर नयाँ संयोजन प्रस्तुत गरिरहेका छन् ।

‘रङ सु थ्योरी’ले व्यक्तिको आत्मविश्वास, सिर्जनशीलता र व्यक्तिगत रुचिलाई अभिव्यक्त गर्ने अवसर दिन्छ । त्यसैले अहिलेका युवापुस्तामाझ यो ट्रेन्ड तीव्र रूपमा लोकप्रिय भइरहेको छ ।

वनपिस ड्रेससँग स्निकर्स वा बुट्स

यदि तपाईं वनपिस ड्रेससँग सधैँ हाई हिल वा फ्ल्याट लगाउनुहुन्छ भने यसपटक स्निकर्स वा चंकी बुट्स प्रयोग गरेर हेर्नुहोस् । यसले लुकलाई स्टाइलिस मात्र होइन, युवापुस्ताको क्याजुअल फेसनसँग पनि मेल गराउँछ ।

लामो समय हिँडडुल गर्नुपर्ने अवस्था भए स्निकर्स झन् आरामदायी विकल्प बन्न सक्छ ।

जिन्स–टिसर्टलाई यसरी बनाउन सकिन्छ फेसनेबल

साधारण जिन्स र टिसर्टलाई आकर्षक बनाउन महँगो पहिरन आवश्यक पर्दैन । त्यससँग पोइन्टेड हिल्स, प्लेटफर्म स्यान्डल, स्टेटमेन्ट बुट्स वा सेतो स्निकर्स प्रयोग गर्दा पनि लुकमा ठूलो परिवर्तन आउँछ । सही फुटवेयरले साधारण पहिरनलाई समेत आधुनिक र आकर्षक देखाउन सक्छ ।

साडीसँग पनि गर्न सकिन्छ नयाँ प्रयोग

साडीसँग हाई हिल्स लगाउने चलन पुरानै हो । तर अहिले कोल्हापुरी चप्पल, स्टाइलिस फ्ल्याट्स, ब्लक हिल्स र स्निकर्स पनि लोकप्रिय विकल्प बन्दै गएका छन् ।

विशेषगरी दिनभर कार्यक्रम हुने, धेरै हिँड्नुपर्ने वा विवाह समारोहमा सहभागी हुने महिलाका लागि स्निकर्स वा आरामदायी फ्ल्याट्स उपयोगी हुन सक्छन् । यसले स्टाइलसँगै आराम पनि दिन्छ ।

यी आउटफिटसँग पनि गर्न सकिन्छ प्रयोग

–ब्लेजर र ट्राउजरसँग सेतो स्निकर्स

–म्याक्सी ड्रेससँग कम्ब्याट बुट्स

–कुर्तासँग लोफर्स

–वाइड–लेग पाइन्टसँग प्लेटफर्म स्निकर्स

–डेनिम स्कर्टसँग स्पोट्र्स सुज

–फर्मल ड्रेससँग स्टाइलिस फ्ल्याट्स

‘रङ सु थ्योरी’ अपनाउँदा ध्यान दिनुपर्ने कुरा

जुत्ता फरक भए पनि सम्पूर्ण लुक असन्तुलित देखिनु हुँदैन । त्यसैले केही कुरामा ध्यान दिनुपर्छ । जुत्ता सफा र राम्रो अवस्थामा हुनुपर्छ ।

अवसर अनुसार फुटवेयर छनोट गर्नुपर्छ । कपडाको रङ, बनावट र फिटसँग जुत्ताको सन्तुलन मिल्नुपर्छ ।

धेरै रङ र धेरै डिजाइन एकैपटक प्रयोग गर्दा लुक अस्तव्यस्त देखिन सक्छ । आत्मविश्वास नै उत्कृष्ट फेसन हो । आफूलाई सहज महसुस हुने स्टाइल रोज्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

फेसनमा प्रयोग गर्न डराउनु हुँदैन

फेसनको अर्थ सबैले गरेको जस्तै गर्नु होइन, आफ्नै शैली निर्माण गर्नु हो । ‘रङ सु थ्योरी’ले यही सन्देश दिन्छ । कहिलेकाहीँ पहिरनसँग अनपेक्षित देखिने जुत्ताले नै तपाईंको सम्पूर्ण लुकलाई सबैभन्दा आकर्षक बनाउन सक्छ ।

त्यसैले अबदेखि आउटफिट छनोट गर्दा कपडा मात्र होइन, फुटवेयरलाई पनि उत्तिकै महत्व दिनुहोस् । सानो परिवर्तनले पनि तपाईंको स्टाइललाई नयाँ उचाइ दिन सक्छ ।

Back to top