×

वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै पनि राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको बताएका छन्। यद्यपि, एमाले कसैको सहारामा उभिने पार्टी नभई आफ्नै बलमा अघि बढ्ने स्वतन्त्र र सशक्त राजनीतिक शक्ति भएको उनले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभिन्न चुनौती र राजनीतिक उतारचढावका बाबजुद एमाले कमजोर नभएको दाबी गरे।

उनले विगतमा पार्टीले धक्का खेपेको स्वीकार गर्दै त्यसलाई अन्त्यको संकेतका रूपमा नभई पुनः नवीकरण र सशक्त रूपमा अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने बताए।

“हामीले धक्का खाएका छौं, तर सिद्धिएका छैनौं। हामी नवीकृत भएर अझ मजबुत रूपमा अघि बढ्नेछौं। अहिले पनि एमालेलाई एक्ल्याउने प्रयासहरू निरन्तर भइरहेका छन्,” ओलीले भने।

अध्यक्ष ओलीले एमालेलाई स्वतन्त्र वृक्षको संज्ञा दिँदै पार्टी अरूको सहारामा टिक्ने संगठन नभएको स्पष्ट पारे। उनले एमालेले आँधी, हुरी, तुफान, बाढीलगायत अनेकौं चुनौती सामना गर्दै आफ्नै बलमा वर्तमान स्थान हासिल गरेको उल्लेख गरे।

“एमाले यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन। हामी दह्रो, मजबुत र विशाल वृक्ष हौं। अरूको बलमा उभिएका होइनौं, आफ्नै बलमा हुर्किएका हौं,” उनले भने।

उनले आगामी दिनमा पनि एमाले आफ्नै क्षमतामा विश्वास गर्दै नवीकरणका साथ अघि बढ्ने र सबै चुनौतीलाई पराजित गर्ने विश्वास व्यक्त गरे।

“हामी आफ्नै खुट्टामा उभिएका छौं। फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अघि बढ्छौं। चुनौतीसँग डराउने होइन, त्यसलाई सामना गर्दै जित्ने पार्टी एमाले हो,” ओलीले भने।

उनले अनुकूल परिस्थितिमा मात्र उत्साहित हुने र प्रतिकूल अवस्थामा निराश हुने प्रवृत्ति एमालेमा नरहेको उल्लेख गर्दै परिस्थिति जस्तोसुकै भए पनि पार्टी दृढतापूर्वक अघि बढिरहने बताए।

Back to top