जनकपुरधाम। धनुषामा मिटरब्याजको आरोपमा पक्राउ परेका तीन जनामाथि कडा कानुनी कारबाहीको माग गर्दै मिटरब्याज पीडितहरूले शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेका छन्।
बिहीबार धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी हरेराम साह, उनकी आमा रेखाकुमारी साह तथा काका गोपाल साहलाई मिटरब्याज सम्बन्धी आरोपमा पक्राउ गरेको थियो। उनीहरूलाई कुनै पनि बहानामा नछाड्न र कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग राख्दै पीडितहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा तथा जिल्ला अदालत धनुषा अगाडि धर्ना तथा विरोध प्रदर्शन गर्दै दोषीलाई उन्मुक्ति नदिन सम्बन्धित निकायसँग माग गरेका छन्।
पीडितहरूको आरोपअनुसार पक्राउ परेका व्यक्तिहरूले लामो समयदेखि अत्यधिक ब्याज असुल्ने, विभिन्न व्यक्तिको धनसम्पत्ति बेइमानीपूर्वक कब्जा गर्ने तथा आर्थिक शोषण गर्दै आएको बताएका छन्। उनीहरूको गतिविधिबाट दर्जनौं परिवार पीडित बनेको प्रदर्शनकारीहरूको दाबी छ।
प्रदर्शनमा सहभागीहरूले पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न, साथै जिल्लामा सक्रिय रहेका अन्य मिटरब्याजीहरूलाई समेत पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्।
प्रदर्शनकारीहरूले मिटरब्याज पीडितले न्याय नपाएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्।