एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि तथा फिल्ड भ्रमण भत्तालगायतका सुविधालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सांसदका स्वकीय सचिवहरूको तलब तथा अन्य सुविधाका विषयमा सरकार उदार रहेको स्पष्ट पारे।
उनले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता तथा अन्य सुविधा पनि आवश्यक कानुनी प्रक्रिया र विधि पूरा गरेर समयानुकूल परिमार्जन गर्न सरकार तयार रहेको बताए।
अर्थमन्त्री वाग्लेले सरकारले कर्मचारी तथा स्वकीय सचिवहरूको सेवा–सुविधालाई वर्तमान आवश्यकता र आर्थिक अवस्थाअनुसार व्यवस्थित गर्ने दिशामा काम गरिरहेको उल्लेख गरे।
उनले भने, “अब यो तलब वृद्धिको कुरा छ। हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौँ। त्यस मानेमा फिल्ड भिजिटका क्रममा दिइने भत्ताजस्ता सुविधालाई विधि र प्रक्रिया पुर्याएर समयानुकूल बनाउन सरकार नकारात्मक छैन।”
अर्थमन्त्रीको यस अभिव्यक्तिसँगै सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक तथा फिल्ड भ्रमण भत्तामा पुनरावलोकन हुने अपेक्षा गरिएको छ।