×

वीरगञ्ज। चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगञ्जका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार सार्वजनिक गरिएको छ।

वीपीसी कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा गीतको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक अनिता साह प्रमुख अतिथि रहनुभएको थियो भने लेखक तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

गीतका गायक तथा मुख्य कलाकार चन्दन प्रजापतिले देशको सुरक्षामा खटिने सैनिकको पारिवारिक जीवनलाई केन्द्रमा राखेर गीत निर्माण गरिएको जानकारी दिए। उनले चर्चित गायिका कल्पना पटवारीको स्वरले गीतलाई अझ आकर्षक बनाएको उल्लेख गर्दै दर्शक–श्रोताले गीतलाई सकारात्मक रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार एनआर म्युजिक रेकर्ड्समार्फत निर्माण गरिएको उक्त गीत तयार गर्न करिब साढे चार लाख रुपैयाँ खर्च भएको छ। आगामी दिनमा पनि सामाजिक तथा पारिवारिक विषयवस्तुमा आधारित गीतहरू निर्माण गर्दै जाने योजना रहेको उनले बताए।

कार्यक्रममा विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबे, सदस्यहरू विभा साह र धीरज साह, भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, लेखक प्रमोद पाण्डे ‘हेरम्ब’, कलाकार निभा यादव, निर्माता नितेश मेहता, राज सोनी, लेखक उमालाल साह, भोजपुरी गायक सुनिल पण्डित, टिकटक कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन पत्रकार जय यादवले गरेका थिए।

Back to top