वीरगञ्ज । जीएचपी विद्यालयका कक्षा १० का विद्यार्थीहरूले आफ्नो विदाई कार्यक्रमबाट बचत भएको रकमलाई व्यक्तिगत रूपमा खर्च नगरी सामाजिक सेवामा लगानी गर्दै मानवता, सामाजिक उत्तरदायित्व र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
विद्यार्थीहरूले रङपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय का विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै ८० थान नयाँ स्कुल ब्याग, ह्वाइट बोर्डहरू तथा ECD (शिशु) कक्षाका बालबालिकाका लागि कार्पेट हस्तान्तरण गरेका हुन्।
दान कार्यक्रममा सहभागी विद्यार्थीहरूले सीमित स्रोत र साधनका बाबजुद पनि त्यहाँ अध्ययनरत बालबालिकाको शिक्षाप्रतिको उत्साह, लगाव र दैनिक संघर्षलाई नजिकबाट अनुभव गरेको बताएका छन्। उक्त अनुभवले आफूहरूलाई जीवनमा अझ बढी मेहनत गर्न, कठिनाइसँग जुध्न र समाजप्रति जिम्मेवार बन्न प्रेरित गरेको उनीहरूको भनाइ छ।
जीएचपी विद्यालय परिवारले कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूको यस मानवीय र प्रेरणादायी पहलप्रति गर्व व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ। विद्यालयले यस्तो सामाजिक उत्तरदायित्वले विद्यार्थीहरूमा सहयोग, नेतृत्व, संवेदनशीलता र सकारात्मक सोचको विकास हुने विश्वास व्यक्त गरेको छ।
विदाई कार्यक्रमको बचत रकमलाई सामाजिक हितमा प्रयोग गर्ने कक्षा १० का विद्यार्थीहरूको यो कार्यले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई समाजप्रतिको उत्तरदायित्व र मानवीय मूल्यसँग पनि जोडिएको सन्देश दिएको विद्यालयको भनाइ छ।