वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी तथा प्राधिकरणमा कार्यरत कर्मचारीहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण बुझाउन सबै मातहतका निकायलाई निर्देशन दिएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो तथा परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
सोही व्यवस्थालाई कार्यान्वयन गर्न मन्त्रालयले सबै कार्यालयलाई चालु आर्थिक वर्षको सम्पत्ति विवरण सङ्कलन गरी व्यवस्थित रूपमा पेस गर्न निर्देशन दिएको जनाएको छ। साथै, यस आर्थिक वर्षमै सेवा निवृत्त भएका कर्मचारीहरूको सम्पत्ति विवरणसमेत सम्बन्धित निकायबाट सङ्कलन गरी एकमुष्ट रूपमा मन्त्रालयमा दर्ता गराउन भनिएको छ।
मन्त्रालयले विवरण पेस गर्दा केही प्राविधिक पक्षमा पनि विशेष ध्यान दिन आग्रह गरेको छ। नयाँ नियुक्त भएका कर्मचारीलाई सम्बन्धित निकायले अनिवार्य रूपमा सङ्केत नम्बर उपलब्ध गराउनुपर्ने तथा हाल कार्यरत कर्मचारीहरूले आफ्नो कायम रहेको सङ्केत नम्बर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, सम्पत्ति विवरणसम्बन्धी सम्पूर्ण विवरण राष्ट्रिय सतर्कता केन्द्रले सञ्चालन गरेको आधिकारिक सफ्टवेयरमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
विवरण पेस गर्ने प्रक्रियालाई एकरूप बनाउन इन्टु–९ साइजको खाम प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। खामको बाहिरी भागमा ‘आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण’, कर्मचारीको सङ्केत नम्बर, कार्यरत निकाय, पूरा नाम, थर तथा सम्पर्क मोबाइल नम्बर अनिवार्य रूपमा उल्लेख गर्न मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले तोकिएको प्रक्रिया र समयसीमाभित्र सम्पत्ति विवरण पेस गरी कानुनी दायित्व पूरा गर्न सबै कर्मचारी तथा मातहतका निकायलाई आग्रह गरेको छ।