जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयले “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३” अनुसार २०८३ साल असार महिनाका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (महिनाको उत्कृष्ट प्रदेश प्रहरी) घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओमप्रसाद अधिकारीले प्रहरी निरीक्षक मल्ललाई प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक मल्ललाई आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन, अनुशासन, सेवाप्रतिको समर्पण, व्यावसायिक दक्षता तथा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक अधिकारीले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराले संगठनभित्र स्वस्थ प्रतिस्पर्धा, उच्च मनोबल तथा सेवाप्रतिको उत्तरदायित्व अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नागरिकमैत्री, पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रवाहका लागि सबै प्रहरी कर्मचारीलाई अझ समर्पित भएर काम गर्न आग्रहसमेत गर्नुभयो।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार “महिनाको उत्कृष्ट प्रहरी” छनोट कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको योगदानको कदर गर्नुका साथै अन्य प्रहरी कर्मचारीलाई पनि थप जिम्मेवार, अनुशासित र व्यावसायिक ढंगले सेवा प्रवाह गर्न प्रेरित गर्नु हो।
प्रहरी कार्यालयले प्रहरी निरीक्षक विशाल मल्ललाई प्रदान गरिएको उक्त सम्मानले सिरहा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउन तथा समुदाय–प्रहरी साझेदारी सुदृढ गर्न उहाँले पुर्याएको योगदानको उच्च मूल्याङ्कन भएको जनाएको छ।