वीरगञ्ज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–११ का पदाधिकारी तथा सदस्यहरू आगामी साउन १६ गते (शनिबार) पर्साको ठोरीमा वनभोज कार्यक्रममा सहभागी हुने भएका छन्। वनभोज कार्यक्रमसँगै संस्थाको विशेष बैठकसमेत आयोजना गरी विभिन्न महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरिएको छ।
यस सम्बन्धमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–११ का अध्यक्ष राम सरार्फको अध्यक्षतामा विशेष बैठक सम्पन्न भएको हो।
बैठकमा उपाध्यक्ष रेखा घिमिरे, वरिष्ठ सल्लाहकार डा. पुरुषोत्तम दुबे, सदस्यहरू निर्मल ताम्राकार, मनीष सिंह, राजेश कुमार सिंह, विष्णु बसौला, विपिन उपाध्याय, रोशनी लुंगेली, गीता चौहान, अनु बर्णवाल, प्रहरी सहायक हवलदार विश्वेश्वर प्रसाद साहलगायतको उपस्थिति रहेको सदस्य जगत राईले जानकारी दिए।
अध्यक्ष राम सरार्फका अनुसार वनभोज कार्यक्रमकै अवसरमा संस्थाको औपचारिक बैठक बस्नेछ, जहाँ संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा विभिन्न प्रस्तावहरू पारित गरिनेछन्।
उनले संस्थाले आगामी दिनमा प्रहरीसँगको समन्वय र सहकार्यलाई अझ सुदृढ गर्दै समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले आवश्यक निर्णयहरू सोही बैठकबाट पारित गरिने अध्यक्ष सरार्फले जानकारी दिए।
संस्थाले समुदाय–प्रहरी साझेदारीलाई थप मजबुत बनाउँदै सामाजिक सचेतना, सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक सचेतना तथा विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रमलाई आगामी कार्ययोजनामा समावेश गर्ने तयारी गरेको जनाएको छ।