×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चारमाध्यममा प्रसारित समाचारको विषयलाई लिएर सञ्चारमाध्यमलाई पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले उक्त कार्य प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल यस्ता गतिविधि रोक्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

वीरगञ्जबाट प्रसारण हुने माई टिभीले वीरगञ्ज महानगरपालिका–३१ को सिफारिसका आधारमा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयमा समाचार प्रसारण गरेको थियो। सो समाचारप्रति सम्बन्धित वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साले तथ्य तथा विवरण पेश गर्न भन्दै सञ्चारमाध्यमलाई पत्र पठाएको थियो।

यस घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति वा गुनासो भए सम्बन्धित सञ्चारमाध्यममै खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया दिन सकिने तथा त्यसबाट पनि समाधान नभए प्रेस काउन्सिल नेपालमा उजुरी गरेर कानुनी उपचार खोज्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।

महासंघले कानुनले तोकेको प्रक्रिया र नियमनकारी निकायलाई बेवास्ता गर्दै स्थानीय प्रशासनमार्फत प्रहरी परिचालन गरी सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्यास नभएको जनाएको छ। यस्तो कार्यले कानुनी उपचारको स्थापित प्रक्रियालाई कमजोर बनाउनुका साथै सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने जोखिम बढाउने महासंघको भनाइ छ।

विज्ञप्तिमार्फत महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। साथै, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मानसिक दबाब सिर्जना गर्ने तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गतिविधि दोहोरिए स्वतन्त्र प्रेस र पत्रकारको पेशागत अधिकारको रक्षाका लागि आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

Back to top