×

वीरगञ्ज । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेपछि त्यसको विरोधमा युवा तथा विद्यार्थीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिन र लोकसेवा आयोगको पूर्वनिर्धारित कार्यतालिका अनुसार पदपूर्ति प्रक्रिया अघि बढाउन माग गरेका छन्।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले दुई दिनअघि सम्पन्न सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना लोकसेवा आयोगमार्फत कुनै पनि पदपूर्ति प्रक्रिया अघि नबढाउने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका हुन्।

प्रदर्शनकारीहरूले लोकसेवा आयोगको तय गरिएको कार्यतालिका अनुसार विज्ञापन खुलाएर परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। वर्षौँदेखि लोकसेवाको तयारीमा निरन्तर मेहनत गरिरहेका हजारौँ युवाको रोजगारीको सपना सरकारले अन्यायपूर्ण रूपमा प्रभावित गरेको उनीहरूको गुनासो छ।

विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘पहुँच भए खाऊ, युवा–स्वकीय सचिव खाऊ, लोक सेवा भिड्ने भए भर्ना छैन जाऊ’, ‘स्वतन्त्र संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर’ तथा ‘देशमै बस्न–बाँच्ने वातावरण सिर्जना गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूको भनाइमा, नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणपछि फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन नभएसम्म स्थायी पदपूर्तिमा रोक लगाउने तथा प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति अनिवार्य गर्ने सरकारी निर्णयले करार प्रणालीलाई प्रश्रय दिने र योग्य तथा प्रतिस्पर्धी युवाहरूको भविष्य अन्योलमा पार्नेछ।

उनीहरूले राजनीतिक प्रभाव, पहुँच र भनसुनका आधारमा होइन, कानुन, पारदर्शिता र मेरिट प्रणालीका आधारमा रिक्त दरबन्दीहरू समयमै खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न सरकारसँग माग गरेका छन्। साथै, लोकसेवा आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न र स्थायी नियुक्ति प्रक्रिया तत्काल सुचारु गर्न सरकारलाई चेतावनी दिएका छन्।

Back to top