×

वीरगञ्ज। ज्ञानदा एकेडेमीले कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि ‘स्मार्ट मनी म्यानेजमेन्ट’ तथा ‘डिजिटल बैंकिङ साक्षरता’ विषयक विशेष अतिथि व्याख्यान कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूलाई व्यवहारिक वित्तीय ज्ञान तथा आधुनिक डिजिटल अर्थतन्त्रबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) का शाखा प्रबन्धक बेलाल अहमद सहभागी भएका थिए। उनले बैंकिङ क्षेत्रमा आफ्नो अनुभव साझा गर्दै विद्यार्थीहरूलाई बचत गर्ने सही तरिका, लगानीका अवसर, डिजिटल बैंकिङका फाइदा तथा त्यसको सुरक्षित प्रयोगका विषयमा जानकारी गराए।

करिब १०० जना विद्यार्थी सहभागी रहेको उक्त अन्तरक्रियात्मक सत्रमा डिजिटल कारोबारलाई सुरक्षित बनाउने उपाय, वित्तीय अनुशासन तथा भविष्यका लागि प्रभावकारी आर्थिक योजना कसरी बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको थियो।

एकेडेमीका सीईओ तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वसिम हुसेनले गरेका थिए।

कार्यक्रमको समापन गर्दै प्रिन्सिपल कोइरालाले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, व्यावसायिक तथा जीवनोपयोगी सीप प्रदान गर्न ज्ञानदा एकेडेमी सधैं प्रतिबद्ध रहेको बताए।

सत्रको अन्त्यमा विद्यार्थीहरूले बैंकिङ क्षेत्रमा करियर निर्माण, डिजिटल वित्तीय सेवा तथा वित्तीय प्रविधिसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए, जसको प्रमुख वक्ता बेलाल अहमदले विस्तृत जवाफ दिएका थिए।

Back to top