×

वीरगञ्ज। नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको भन्दै कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का बेहोरेको उल्लेख गर्दै त्यसलाई पुनर्जीवित गरी देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका हुन्।

उनले देशको राष्ट्रिय स्वाधीनतामाथि देखिएको संकट समाधान गर्न तथा कम्युनिष्ट आन्दोलनले सामना गरिरहेको असाधारण चुनौतीको सामना गर्न सबै कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताए।

संयोजक दाहालले वर्तमान परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई पुनः संगठित र सुदृढ बनाउनु समयको आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि साझा प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गरे।

उनले देशमा निरंकुश प्रवृत्ति देखापर्न थालेको दाबी गर्दै त्यसका विरुद्ध पुनः संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको पनि बताए।

कार्यक्रममा उनले स्वर्गीय नरबहादुर कर्माचार्यले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँका विचार र योगदानलाई आत्मसात् गर्दै आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।

Back to top