×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित फुटसल मैदानमा आयोजित ‘सुस्मिता देवी ५ ए साइड नकआउट फुटसल प्रतियोगिता’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लालीगुराँस क्लब च्याम्पियन बनेको छ।

प्रतियोगिताको उद्घाटन वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायले गरेका थिए। प्रतियोगितामा वीरगञ्ज युथ एकेडेमी, लालीगुराँस क्लब, CYC, 16 Boys, एफसी सिमरा, हाम्रो एफसी ‘ए’, हाम्रो एफसी ‘बी’, आरम्भ एफसी, बैंकर्स एफसी, सिमरा ब्वाइज तथा ज्ञान्दा एकेडेमीलगायत विभिन्न टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताका खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै लालीगुराँस क्लबले उपाधि जित्दा एफसी सिमरा उपविजेतामा सीमित भएको हो।

व्यक्तिगत विधातर्फ लालीगुराँस क्लबका विवस श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए। त्यस्तै सिसास थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी (Player of the Tournament) घोषित हुँदा सुजल डंगोल सर्वाधिक गोलकर्ता (Highest Goal Scorer) बने।

समापन समारोहमा प्रमुख अतिथि वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय, फुटबल प्रशिक्षक ऋतु शाक्य तथा दिपेन्द्र ताम्राकारले विजेता र उपविजेता टोलीका खेलाडीलाई शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिता अवलोकन गर्न विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत तथा वीरगञ्ज महानगरपालिका–१६ का वडा अध्यक्ष परशुराम चौरसियालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन समाजसेवी सुभाष सिंहले गरेका थिए।

आयोजकका अनुसार युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउने, अनुशासन तथा आपसी सद्भावको विकास गर्ने र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। आयोजकले आगामी दिनमा पनि युवालाई खेलकुदमा सक्रिय बनाउन यस्ता प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ।

Back to top