रक्सौल। भारतको रक्सौलस्थित डंकन अस्पतालले ५०औँ पटक रक्तदान पूरा गरेको अवसरमा मस्करा ट्रस्टका ट्रस्टी तथा सामाजिक कार्यकर्ता रवि मस्करालाई सम्मान गरेको छ।
अस्पताल प्रशासनले आयोजना गरेको कार्यक्रममा डंकन अस्पतालका प्रमुख डा. प्रभु जोसेफले मस्करालाई प्रशस्तिपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। कार्यक्रममा ब्लड बैंक इन्चार्ज अनूप स्टेफन तथा डा. डेभिडसहितको टोलीले मस्करालाई शुभकामना व्यक्त गरेको थियो।
सम्मानपछि पनि मस्कराको रक्तदान अभियान रोकिएन। उनले छौडादानो निवासी देवेन्द्र यादवका छोराका लागि आफ्नो ५१औँ पटक रक्तदान गरेका छन्।
मस्कराले आफू र मस्करा ट्रस्टसँग आबद्ध सयौँ सदस्यले निरन्तर रूपमा रक्त अभाव भएका बिरामी तथा आवश्यकतामा परेकालाई सहयोग गर्दै आएको बताए। रक्तदानले समाजमा आवश्यक व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
उनले स्वस्थ व्यक्तिले चिकित्सकीय मापदण्डअनुसार नियमित रक्तदान गर्न सक्ने उल्लेख गर्दै युवाहरूलाई आफ्नो आसपासका रक्तसञ्चार केन्द्र तथा ब्लड बैंकमा पुगेर रक्तदान गर्न आग्रह गरे।
“रक्तदान गर्दा समाजलाई प्रत्यक्ष रूपमा फाइदा पुग्छ। आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन सकिन्छ,” मस्कराले भने। मस्कराले रक्तदानलाई सामाजिक सेवाको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउँदै युवाहरूलाई पनि यस अभियानमा जोडिन आह्वान गरेका छन्।