×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन्।

वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र स्थानीयले बिहान करिब ११ बजे अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला गर्दै तोडफोड गरेका हुन्।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण पटेलको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शनसमेत गरेका थिए। प्रदर्शनका क्रममा आकस्मिक कक्षमा क्षति पुगेको र एक जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनापछि नारायणी अस्पताल परिसर केही समय तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

वडा प्रहरी कार्यालयका प्रमुख विक्रम सुवेदीका अनुसार उपचारका लागि अस्पताल ल्याइएका पटेलको मृत्युको वास्तविक कारणबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। बिरामीको मृत्युको कारण तथा तोडफोडको घटनाबारे अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुने प्रहरीले जनाएको छ।

Back to top