×

वीरगञ्ज। रौतहटको विश्रामपुर नगरपालिका–२ स्थित नेपाल युवा क्लब (पुस्तकालय) परिसरमा आयोजित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर शनिबार सम्पन्न भएको छ। आर्थिक रूपमा विपन्न तथा मोतियाबिन्दुबाट पीडित ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल तथा नेपाल ब्रह्मर्षि समाज जिल्ला कार्य समिति, रौतहटको संयुक्त आयोजनामा सम्पन्न शिविरको उद्घाटन मधेश प्रदेश सरकारका पूर्वमन्त्री तथा सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य बीरेन्द्र प्रसाद सिंहले गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री सिंहले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने बताए। उनले यस्ता सेवामूलक तथा मानवीय कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा निरन्तर सहकार्य र सहयोग आवश्यक रहेको धारणा राखे।

सोही अवसरमा उनले वृक्षारोपण कार्यक्रमसमेत गर्दै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए। स्वास्थ्य र वातावरण एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले दुवै क्षेत्रमा समान प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा मोतियाबिन्दुका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको तथा आवश्यक परेका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ। यस अभियानबाट आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई ठूलो राहत पुगेको स्थानीयवासीले बताएका छन्।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, समाजसेवी, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव तथा प्रदेशसभा सदस्य बीरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार जनस्वास्थ्यलाई केन्द्रमा राखेर ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइनेछ। उनले राज्य, सामाजिक संस्था र स्वास्थ्य क्षेत्रबीचको सहकार्यबाट मात्रै गुणस्तरीय स्वास्थ्य सेवा आमनागरिकसम्म पुर्‍याउन सकिने विश्वास व्यक्त गरे।

Back to top